चलचित्र पत्रकारको १२ बुँदे घोषणापत्र

0
Shares

चलचित्र पत्रकार संघ नेपालको चौथो पूर्ण बैठक र नीति तथा परामर्श भेला शनिबार र आइतबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ।

संघको केन्द्रीय समिति, पूर्वअध्यक्षहरू, शाखा अध्यक्षहरू र विभिन्न विभागका संयोजक तथा सदस्यको सहभागितामा शनिबार धुलिखेलस्थित धुलिखेल इको रिसोर्टमा चौथो पूर्ण बैठक तथा आइतबार पूर्ण बैठकका सहभागीका साथ पूर्व पदाधिकारी तथा सदस्य र वरिष्ठ पत्रकारको सहभागितामा नीति तथा परामर्श भेला सम्पन्न भएको हो। बैठक र भेलाले १२ बुँदे घोषणापत्र जारी गरेको छ।

बैठक र भेलाले संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन, सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वायन गर्न, फिल्म पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना गर्न र श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न जोडदार माग गरिएको छ। त्यसैगरी, विज्ञापन बोर्डले प्रदान गर्ने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशीरूपमा साना र मझौला तथा स्वरोजगारमुखी र मनोरञ्जन विधा केन्द्रित सञ्चार माध्यमलाई पनि वितरण गर्न, नेपाली फिल्मको बजार प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि फिल्मसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले फिल्म पत्रकारसँग समन्वय र सहकार्य गरी कार्यक्रम व्यवस्थापन गर्न, फिल्म पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखी विविध कार्याशाला तथा प्रशिक्षण कार्यक्रम नियमितरूपमा सञ्चालन गर्नका लागि संंघीय र प्रदेश सरकार, चलचित्र विकास बोर्ड तथा नेपाल पत्रकार महासंघसँग जोडदार माग गरिएको छ।

त्यसैगरी सरकार, चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा फिल्म पत्रकारलाई समावेश गर्न, फिल्मसँग सम्बन्धित संघ–संस्था तथा सरकारी निकायबाट हुने गरेका फिल्मसम्बन्धी अनुगमन, मूल्यांकन तथा विदेश भ्रमण÷अवलोकनजस्ता कार्यक्रममा फिल्म पत्रकारलाई अनिवार्य सहभागी गराउन, फिल्म पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्था गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको फिल्म नीति तथा कार्यक्रमलाई यथासक्य कार्यान्वयन गर्न, नेपाली फिल्मस“ग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसी सहकार्य र समन्वयको माग गरिएको छ।

संघका अध्यक्ष समिर बलामीको अध्यक्षतामा बसेको पूर्ण बैठकमा कार्यक्रम उपाध्यक्ष कुवेर गिरी, संगठन उपाध्यक्ष विजय आवाज, महिला उपाध्यक्ष सुरक्षा भट्टराई र महासविच रघुनाथ सापकोटा, कोषाध्यक्ष मनीष कार्कीले नव निर्वाचित कार्यसमितिको एक महिनाको प्रतिवेदन तथा आगामी योजना पेश गरेका थिए भने सहभागीहरुले विभिन्न सुझाव दिएका थिए। त्यसैगरी, निति तथा परामर्श भेलामा संघले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सहभागीहरूले राय सुझाव दिएका थिए। संघका अध्यक्ष बलामीले फिल्म पत्रकारितालाई थप मर्यादित र व्यावसायिक बनाउन तथा फिल्म पत्रकारको हक हितका लागि काम गर्न दुईदिने कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यसखाले कार्यक्रम काठमाडौंबाहिर गर्ने योजना रहेको बताए।