स्थापनाको १२ औं वर्षमा उत्कृष्ट भयो ‘निष्ट बनेपा’ 

0
Shares

बनेपा।  

२०७९ सालमा सम्पन्न विज्ञान संकायको कक्षा १२ मा नेपाल टप भएको बनेपा निष्ट कलेजको १२ औं वार्षिकोत्सव बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । १२ वर्षमा खोला फर्कन्छ भन्ने उखानलाई निष्ट कलेजले पुष्टि गरेको छ । बनेपामा स्थापना भएको १२ औं वर्षमा देशभरका कलेजलाई उछिन्दै निष्ट कलेजका विद्यार्थी प्रथम भएका हुन् ।

प्रमुख अतिथि बादेले शिक्षालाई श्रमसँग जोडन सके मात्र विद्यार्थीहरुलाई विदेशिनबाट रोक्न सकिने बताउनु भयो । घोकन्ते शिक्षा मात्र नभई समाजमा बिक्ने, व्यवहारिक, सामाजिक, नैतिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बादेले बताउनुभयो । शिक्षाले नै मानिस, समाज र विश्वलाई नै परिवर्तन गर्ने भएकाले प्रविधि सँग मिल्ने र रोजगार मूलक शिक्षामा बढी प्राथमिकता दिनु पर्ने बादेले बताउनु भयो ।

स्थानीय तह र वागमती सरकारका तर्फ बाट कस्तो शिक्षा नीति बनाउनु पर्ने हो संस्थागत रुपमा सुझाव पठाउन सांसद बादेले अनुरोध गर्नु भयो । कार्यक्रममा प्रिन्सिपल दीपक भट्टले स्वागत मन्तव्यका क्रममा बनेपा निष्ट कलेजले राखेको उद्देश्य तथा शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय, अभिभावक र विद्यार्थीले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

कलेजको वार्षिक प्रतिवेदन कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार घिसिङले प्रस्तुत गर्नु भएको थियो । १२ वर्ष अघि १ सय विद्यार्थीबाट सुरु गरिएको कलेजमा हाल १ हजार ५ सय विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् । पाँच हजार भन्दा बढी विद्यार्थीहरु पास आउट भइसकेका छन् । कक्षा ११,  १२ मा विज्ञान संकाय, व्यवस्थापन संकाय, कानुन संकाय तथा विएस्सी, विसिए र सिएसआईटिको अध्यापन हुँदै आएको छ ।

शान्त तथा पारिवारिक वातावरणमा अध्यापन गराइने कलेजको उद्देश्य रहेको छ भने व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप अगाडी बढी रहेको छ । निष्ट कलेजले  शिक्षा क्षेत्रमा आफ्नो छुट्टै ब्रान्ड बनाई  नेपालमा मात्रै नभई विश्वमै पहिचान बनाउन सफल भएको घिसिङले बताउनु भयो । कलेजले शैक्षिक सत्र २०७९ को विज्ञान संकाय तर्फ छात्र रञ्जित दाहालले ३.९६ जिपिए ल्याई नेपाल टप र व्यवस्थापन संकाय तथा कानुन संकायमा जिल्ला प्रथम हुन सफल भएको निर्देशक डा. घिसिङले बताउनुभयो ।

कलेजलमा अत्याधुनिक ल्याब, लाइब्रेरी, क्यान्टिन, प्रविधि मैत्री कक्षा कोठाको व्यवस्था भएकाले त्यही सुविधामा गुणस्तरीय शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीहरुका लागि राजधानी तथा जिल्ला बाहिर अध्ययन गर्न जाने समस्याबाट रोक्न सफल भएको कलेजको निष्कर्ष घिसिङले सुनाउनु भयो ।

कार्यक्रममा कक्षा ११ र १२ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरु, वार्षिक खेलकुद सप्ताहका उत्कृष्ट विद्यार्थीहरु, दीर्घकालीन उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव हिरा शर्मा नेपाल, बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे, निष्ट कलेजका निर्देशक प्रणिता शर्मा बराल, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल लगायतले निष्ट कलेजले काभ्रेपलाञ्चोक जिल्लाको उच्च शिक्षामा पुर्‍याएको योगदानको कदर गर्नु भएको थियो । कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. माधव बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।