उपनिर्वाचनका लागि सक्रिय हुँदै निर्वाचन आयोग र दलहरू

0
Shares

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगसँगै राजनीतिक दलको सक्रियता क्रमशः बढ्दै गएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यतालिकाको व्यवस्थापकीय र प्राविधिक तयारीका लागि आयोगको सक्रियता बढेसँगै दलहरू चुनावको लागि सुस्तरी होेमिन थालेका छन् ।

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यस्तै तनहुँ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती दुई स्थानमा पनि उपनिर्वाचन हुन लागिएको हो ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ ।

आयोगले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन लागेको हो । त्यसका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको छ ।

आयोगले यही चैत्र १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसै गरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम छ । त्यसका लागि तयारीहरू भइरहेको बताउँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । तनहुँ र बाराको प्रयोजनका लागि आयोगले दल दर्ता गर्न दिइएको समय सीमामा २६ वटा दल दर्ता भएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न एक साता मात्र बाँकी रहेकाले राजनीतिक दलहरू उम्मेदवार छनोटसम्बन्धी बैठकमा केन्द्रित हुन थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकमा उपनिर्वाचनको विषयमा छलफल भएको र चुनावी कमान्डर तोकिइसकेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । नेपाली कांग्रेस तथा नेकपा (एमाले) ले पनि उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको जनाएको छ ।

चितवन क्षेत्र नं १ मा रास्वपाका सभापति रवि लामिछाने र बारा क्षेत्र नं २ मा उपेन्द्र यादवले उम्मेदवारी दिने तय भइसकेको छ । सत्ता गठबन्धनमा रहेका दल जनता समाजवादी पार्टीको अध्यक्षसमेत रहनुभएका यादवले उम्मेदवारी दिने तय भएको हुँदा सत्तागठबन्धनका अरू दलका नेताहरूले मित्रवत् प्रतिस्पर्धामा जान जोड दिएको बुझिएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेसका जिल्ला तहका नेताहरूले मित्रवत् प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् भने लोसपा र जनमत पार्टीले आफ्नो उम्मेदवार पनि उठाउने जनाएको छ ।