पौडेल-रावल वाक् युद्ध

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावलबीच वाक् युद्ध चलेको छ । एमालेको मिसन ग्रासरुट अभियानअन्र्तगत सुदूरपश्चिम पुगेका उपाध्यक्ष पौडेल र गृहजिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त नेता रावल एक–अर्काको आलोचनामा उत्रनुभएको छ ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर नेता रावलले पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदासमेत आफूलाई जानकारी नदिएको गुनासो गर्दै भन्नुभयो– ‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरुटअन्तर्गत कार्यक्रम गरिएको रहेछ । पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा आफू आउँदै छु भन्नुभएन । उक्त कार्यक्रममा बोल्ने एक जनाले फागुन १९ गते मलाई बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिएपछि ८० प्रतिशत बढीले आपत्ति जनाउनुभयो ।’ उहाँले पार्टीले आयोजना गरेको कार्यक्रममा आफूलाई बोलाउने जिल्ला कमिटीका पदाधिकारीमाथि उपाध्यक्ष पौडेललगायत केन्द्रीय नेताहरूले स्पष्टीकरण सोधेको भन्दै आक्रोश पनि पोख्नुभयो ।

सोमबार साँफेबगरमा भएको मिसन ग्रासरुटअन्तर्गतको कार्यक्रममा रावल पक्षधर नेता÷कार्यकर्ताले नाराबाजी गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै यसअघि उपाध्यक्ष पौडेलले पनि पत्रकार सम्मेलन गर्नुभएको थियो । सोमबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलले भन्नुभएको थियो– ‘भीम रावलजी पार्टी, जनता र कार्यकर्ताले निर्माण गरेको नेता हो । तर, पछिल्ला दिनमा उहाँले केही गम्भीर गल्ती पनि गर्नुभएको छ । उहाँले पार्टीले दिएको जिम्माअनुसार काम गर्नुभएको छैन । पार्टीका औपचारिक निर्णयका विरूद्ध सार्वजनिक रूपमा बोल्नुभएको छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला पार्टीका निर्णयसँग बेमेल हुने खालका कुरा बोलेर भीम रावलजीले गल्ती गर्नुभएको छ ।’ उहाँले यदि रावलले आफ्नो गल्ती र कमजोरीलाई महसुस गरेर पार्टी काममा सक्रिय हुन चाहेमा उहाँलाई स्वागत गरिने बताउनुभयो ।

पौडेलले पार्टीले दिएको जिम्मेवारी रावलले पूरा नगरेको, पार्टी अध्यक्षविरूद्ध उम्मेदवारी दिएको भन्दै कटाक्ष गर्नुभएको थियो । मंगलबार त्यसको जवाफस्वरूप नेता रावलले भन्नुभयो –‘म उहाँलाई सोध्न चाहन्छु, भीम रावलले गम्भीर गल्ती के ग¥यो ? पार्टीलाई सैतान भन्नेलाई सांसद बनाएको छु कि, हलोमा भोट हाल भनेको छु, कि छातामा १७ जनालाई मत हाल भनेको छु ?’ आफूलाई पार्टीले पछिल्लो समय कुनै जिम्मेवारी नदिएको टिप्पणी गर्दै रावलले भन्नुभयो– ‘अध्यक्षविरूद्ध उम्मेदवारी दियो भन्नुभएको छ, हाम्रो पार्टीले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छ । हिजो ओली र झलनाथजी अध्यक्षमा प्रतिष्पर्धा गर्नुभयो, माधव नेपाल र ओलीजीले प्रतिस्पर्धा गर्नुभयो । मैले ओलीजीसँग प्रतिस्पर्धा गरेर के बिगारेँ ?’

अघिल्लो महाधिवेशनमा प्रतिस्पर्धाबाटै सबैभन्दा धेरै मत ल्याएर आफू उपाध्यक्ष चुनिएको स्मरण गराउँदै रावलले प्रश्न गर्नुभयो–‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा कुनै व्यक्तिविरूद्ध उम्मेदवारी दिनु नै गल्ती हुन्छ र ?’ आफूमाथि उपाध्यक्ष पौडेलले लगाएका आरोप तथ्यहीन र भ्रमपूर्ण भएको भन्दै रावलले केन्द्रीय नेताहरू आफैंले भड्काउपूर्ण र उत्तेजनापूर्ण कुरा गरेपछि कार्यकर्ताहरूले त्यसको प्रतिवाद गर्नु स्वाभाविक भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेल पार्टीको मिसन ग्रासरुट अभियानअन्तर्गतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जानुभएको हो भने पूर्वउपाध्यक्ष रावल गृहजिल्ला अछाम पुगेर कञ्चनपुरमा भेटघाट गरेर मंगलबार कैलालीको धनगढी पुग्नुभएको थियो ।

पार्टीको १० औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि ओली र उहाँका निकट नेताहरूले रावललाई हेर्ने दृष्टिकोण फरक बनाएका थिए । त्यसयता एमालेले नेता रावललाई पार्टीको कुनै औपचारिक जिम्मेवारी दिएको छैन । पार्टीले नेता रावललाई औपचारिक जिम्मेवारी नदिएको र मिसन ग्रासरुट अभियानमा समेत उहाँलाई भूमिकाविहीन बनाइएको भन्दै रावल पक्षका कार्यकर्ताले एमालेको कार्यक्रमविरुद्ध नाराबाजी गरेका थिए । मंसिर ४ को आम चुनावमा समेत रावललाई पार्टीले अछाममा टिकट दिएको थिएन ।

पार्टीले कुनै जिम्मेवारी नदिए पनि उहाँ जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आउनुभएको छ । एमालेले शुरू गरेको मिसन ग्रासरुट कार्यक्रम पार्टीलाई बलियो बनाउन नभई विधि, सुशासन र देशको पक्षमा आवाज उठाएका व्यक्तिलाई किनारा लगाउन गरिएको प्रतिक्रिया दिँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘गुटगत स्वार्थप्रेरित अभियान चलाइँदैछ । यो अभियानले पार्टीलाई हित गर्दैन ।’ मिसन ग्रासरुट अभियानमा पार्टीभित्रको अन्तरविरोधबारे कुरा नगर्ने भनिए पनि पौडेललगायत केही साथीहरूले निरन्तर आफूमाथि आक्रमण गरेको रावलले बताउनुभयो ।

एमाले जिल्ला कमिटी सदस्य प्रकाश शाहले नेता रावलमाथि नेताहरूले आक्रोशपूर्ण अभिव्यक्ति दिएका कारण विवाद भएको बताउनुभयो । भीम रावललाई पनि कार्यक्रममा सहभागी गराउने प्रयास गरिएको भए पनि त्यो सम्भव नभए पनि विरोध नगर्ने सहमति भएको जानकारी दिँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सबै नेताहरूलाई सहभागी गराउने प्रयास गरिएको भए पनि त्यसो हुन नसक्दा पार्टीको आन्तरिक विषयलाई लिएर कसैले कसैको विरोध नगर्ने सहमति गरेर शुरू गरिएको कार्यक्रममा विरोध गरेपछि नेता कार्यकर्ताहरूले त्यसको प्रतिकार गरेका हुन् ।’