‘रेगुलेटर’ प्रयोगकर्तालाई क्षतिपूर्ति हस्तान्तरण

२५ सयको रेगुलेटरमा २ करोडसम्मको बीमा



काभ्रे। 

इन्डिकेटेड ग्यास टेक्नोलोजी (आइजिटी) रेगुलेटर प्रयोगकर्तालाई क्षतिपूर्ति बापत रकम हस्तान्तरण गरिएको छ । उक्त कम्पनीको रेगुलेटर प्रयोग गर्दा त्यसबाट कथंकथाचित क्षति हुन पुगेमा कम्पनीका तर्फबाट खरिद अवधिकै समयमा गरिएको बीमा बापतको रकम हस्तान्तरण गर्ने सम्झौता अनुसार क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।

पनौती नगरपालिका ४ ऐरिगाउँ स्थित कुसुम खत्रीको घरमा रेगुलेटरकै समस्याका कारण ग्यास लिक हुन गई आगलागी भएको प्रहरी प्रतिवेदनका आधारमा भएको क्षति कम्पनीका तर्फबाट बेहोरिएको नेपाल एलपिजी संघका अध्यक्ष जीवन कार्कीले बताउनु भयो ।

खत्रीले क्षति भएको रकम अनुसार बीमा बापत ३ लाख ८९ हजार ४ सय ९० रुपैयाँ प्राप्त गर्नु भएको छ । पनौती नगरपालिका वडा नम्बर ४ को कार्यालयमा आयोजित कार्यक्रममा खत्रीलाई नेपाल एलपिजी संघका अध्यक्ष जीवन कार्की, पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, वडा अध्यक्ष दीपक दाहाल लगायतले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको थियो ।

२०७९ श्रावण १८ गते बिहान खाना पकाउने क्रममा पनौती नगरपालिका वडा नम्बर ४ ऐरिगाउँ स्थित कुसुम खत्रीको घरमा ग्यास लिक भई आगलागी भएको थियो । यस अघि पनि ग्यास लिक भएर दुर्घटना भएका घटना भए पनि पीडितले पहिलो पटक क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको उप–प्रमुख गीता बञ्जाराले बताउनु भयो । पछिल्लो समय ग्यास प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेकाले यसलाई सुरक्षित बनाउनुपर्नेमा बन्जाराले जोड दिनुभयो ।

वडा अध्यक्ष दीपक दाहालले तत्कालीन अवस्थामा वडाको तर्फबाट केही राहत उपलब्ध गराइएको बताउँदै वीमा बापतको रकम उपलब्ध गराएर दुखको घाउमा मलहम लगाएकोमा एलपिजी संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यसबाट आइजिटी रेगुलेटर भरपर्दो र विश्वासिलो छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो ।

नेपाल एलपिजी संघका अध्यक्ष जीवन कार्कीले सामान बेच्ने मात्रै होइन, सुरक्षित समेत हुनुपर्छ भन्ने अवधारणा अनुसार आफ्नो उत्पादन बीमा गरेर बजारमा पठाउने गरिएको बताउनु भयो । विश्वमा ४० लाख भन्दा बढी आइजिटी रेगुलेटर प्रयोगकर्ता रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा ७५ प्रतिशत भन्दा बढी उपभोक्ताले रेगुलेटर बन्द गर्दैनन् । आइजिटी रेगुलेटर बन्द नगरे पनि आफैँ बन्द हुन्छ । ३० प्रतिशत भन्दा बढी ग्यास चुलो भन्दा बाहिरबाट लिक भयो भने रेगुलेटरले आफैँ बन्द गरिदिन्छ भने ग्यास कसरी चल्दैछ भनेर इन्डिकेटर मार्फत जानकारी पाउन सकिन्छ । त्यस कारण अन्य रेगुलेटर भन्दा आइजिटी रेगुलेटरले दुर्घटना कम गराउने अध्यक्ष कार्कीको दाबी छ । केही गरी ग्यासका कारण दुर्घटना भयो भने बिमा रकम समेत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

बीमा रकम प्राप्त गरेसँगै आफूलाई राहत मिलेको कुसुम खत्रीले बताउनुभयो । दुर्घटना हुनुभन्दा ७ महिना अघि खत्रीले आफू नहुँदा अरुले पनि ग्यास चलाउन सक्छन् भनेर सुरक्षाको लागि उक्त रेगुलेटर प्रयोग गर्नुभएको थियो । रेगुलेटर जडान गर्दा नै बिमा हुन्छ भनेकाले पछि प्रकृया थालिएको खत्रीले बताउनुभयो । यो रेगुलेटरको बजार मूल्य २ हजार ५ सय छ । रेगुलेटर २ वर्षको ग्यारेन्टी सहित उपभोक्ताले प्राप्त गर्नेछन् । आइजिटी रेगुलेटरको मुख्य कार्यालय डेनमार्कमा छ । नेपालमा सन् २०१३ बाट आधिकारिक बिक्री सुरु भएको हो । ७० देशले आइजिटी रेगुलेटर बिक्रीका लागि अनुमति लिएका छन् ।

कुनै दुर्घटना भएमा नेपाल इन्स्युरेन्सको मुल्यांकन अनुसार बिमा रकम दिइन्छ । अधिकतम २ करोड सम्मको बिमा हुने संघले जनाएको छ । त्यो भन्दा माथि क्षति भएमा विश्वका माथिल्लो निकायमा जानकारी गराइन्छ । बिमा बापतको रकम हस्तान्तरण कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहाल, आइजिटी नेपालका वितरक कृष्णप्रसाद दाहाल, नेपाल एलपिजी संघका अध्यक्ष जीवन कार्की, सचिव गोविन्द घिमिरे, आइजिटी काभ्रे प्रतिनिधि इन्द्रमणी तिमल्सिना (.९८४३२४९५३५), वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्