कालिमाटी बजार अनुगमन, अनुगमनलाई निरन्तरता

0
Shares

काठमाडौं।

काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले शनिबार कालीमाटी तरकारी बजारको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खरिद र विक्री बिल देखाउन नसक्नु, महानगरको दर्ता र नवीकरण नहुनु, तौलका सामग्री तथा उपकरणको नवीकरण देखाउन नसकेको भेटिएको थियो । अनुगमन टोली पुग्दा थोक व्यापारी व्यापार छोडेर लाखापाखा लागेका थिए ।

बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीव्र बनाएको हो । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर निरीक्षण गरेको थियो ।

यसलाई व्यवस्थित गर्न कामपाले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक–२०७७ जारी गरिसकेको छ । यसलाई सामयिक परिमार्जन गर्दै २०७९ सालमा संशोधन गरेको थियो । सोही विधेयकको आधारमा बजार अनुगमन गरेको कामपाले जनाएको छ ।

अनुगमनका बारेमा जानकारी दिँदै निरीक्षण अधिकृत एवं प्रशासन महाशाखा प्रमुख सरिता राईले ‘वस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्तालगायत दर्ता, अनुमति, सिफारिस, नवीकरणका कागजात अवलोकन गरेको बताउनुभयो ।

कामपाका अनुसार कालिमाटी तरकारी ता फलफूल बजारमा दैनिक औसतमा ५ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुने गरेको छ । बजारमा ४ सय ५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल सञ्चालित छन् ।