‘साहसिक खेलबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउँछौ’

0
Shares

युवा पुस्तामा आकर्षक बन्दै गएको साहसिक पर्यटकीय खेल ‘क्रसमान्ण्डु’ च्याम्पियनसिपमा तेस्रो भएका राजकुमार कार्कीको सपना अधुरै रह्यो । दुई ल्याब्स अघि भएका कार्की अन्तिम दुई ल्याब्स अघि ईस्टामिना कमजोर भएकाले पल्टिए पछि उनलाई उछिन्दै पाँच प्रतिस्पर्धी अघि परे । तत्काल इस्टामिना बढाउँदै पल्टिएको डट बाइक उचालेर रेसिङ लिएका कार्की अन्ततः तेस्रो हुन सफल भए ।

कार्कीलाई प्राप्त भएको हुटिङका आधारमा उनी प्रथम हुनु पर्ने थियो । तेस्रो हुँदा पनि युवा पुस्ताहरुमा लोकप्रिय कार्की अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान भने कमजोर देखिए । कार्कीलाई उछिन्दै दिनेश क्षेत्री प्रथम भए भने भीम होना दोस्रो भए ।

करिब १२ लाख रुपैयाँ पर्ने महँगो डट बाइकबाट रेसिङ गरिरहँदा साढे २ लाख रुपैयाँ खर्च भएको कार्कीले बताए । ‘खर्च र जोखिम भन्दा पनि साहसिक कार्य गर्ने बानी हो’–कार्कीले भने –‘जे गर्दा खुसी हुन सकिन्छ त्यही गर्दा घर परिवार र समुदायको साथ र सहयोग आवश्यक छ ।’ रेसिङमा हुन सक्ने जोखिमका बारेमा कार्कीले सामान्य भएको प्रतिक्रिया व्यक्त गरे  ।

‘नेपालकै हालसम्मको सबैभन्दा ठुलो रेसिङ प्रतियोगिता काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आयोजना गर्‍यौं’–आयोजक डट टेम्पल प्रालीका अध्यक्ष इजव वरुणले भने–‘अन्तर्राष्ट्रिय मापदण्डको ट्रयाक मोटो क्रस तयार गरी यो प्रतियोगिता आयोजना गरिएको हो ।’

नासाको समन्वयमा आयोजना भएको प्रतियोगितामा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरु सहभागी भएका थिए । १७ जना मध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए । सहभागी  भएका मध्ये तीन समूहमा विभाजन गरिएका मध्ये भीम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समूहका हुन् ।

दोस्रो समूहमा आशुतोष धुँजु, दिनेश क्षेत्री, रामविक्रम थापा र मनिष गुरुङ  थिए । एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेस्रो समूहमा थिए । प्रतिस्पर्धामा सहभागी  भएका मध्ये पहिलो समूहका भीम होना र राजकुमार कार्की क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो समूहका दिनेश क्षेत्री प्रथम भए ।

आयोजक डट डेम्पल प्रालीका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोस्रो हुने भीम होनालाई ७५ हजार र तेस्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धुलिखेलमा आयोजना गरिएको साहसिक खेलको प्रवर्द्धन तथा विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

आयोजक डट टेम्पल प्रालीका अध्यक्ष इजव वरुणले डट बाइक रेसिङ महँगो र जोखिम भए पनि सुन्दर भएको बताउनु भयो । पछिल्लो समय युवाहरुको क्रेज बनिरहेको रेसिङको महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्न पाएकोमा नासा र अन्य संघ संस्था तथा सहयोगिहरुलाई वरुणले धन्यवाद दिनु भएको थियो ।

८३० मिटरको लम्बाई रहेको मोटो क्रस खुल्ला माटोमा २० ल्याब्स घुमाएर युवाहरुले साहसिक प्रतियोगितामा सहभागी जनाउँदा सर्वसाधारणले हुटिङ गरेका थिए । नासाको रेसिङ लाइसेन्स प्राप्त ब्यक्तिहरु मात्रै उक्त प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

दुई पाग्रें बाइक सँगको खेललाई मनोरञ्जनका रुपमा लिँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन साहसिक खेलमा सहभागी युवाहरुलाई अवसर र ब्यवसायीकताका लागि सरकारले सहयोग गर्नु पर्ने नासाका सचिव निरोज खड्काले बताउनु भयो । धुलिखेलमा रहेको निजी क्षेत्रका ब्यक्तिहरुको ३८ रोपनी जमिन १० वर्षका लागि भाडामा लिँदै विभिन्न प्रतियोगिता आयोजना गरिँदै आएको खड्काले बताउनु भयो ।

क्रसमाण्डु अफरोडमा आयोजना गरिन्छ भने रेसमाण्डु पिच भएको स्थानमा हुनेछ । नेपालको पहिलो र साहसिक खेललाई तीन तहकै सरकारको समन्वय र सहयोग रहँदा नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सहभागी  प्रतियोगितहरुले बताए ।