स्वास्थ्य परीक्षण नगरी पशुवध- अस्वस्थकर मासु खुवाउँदै महानगर

एक दशक भयो वास्तै छैन

0
Shares

–दैनिक ७ सय ५० राँगा, २ हजार खसीबोका
– खसीबोकाका लागि वधशाला नै छैन
–मासु ऐन छ, कार्यान्वयन शून्य
–बल्ल अनुगमन शुरू, स्वास्थ्य परीक्षण कहिले ?
–दशैंमा मात्र चौपायाको स्वास्थ्य परीक्षण, अरू बेला चुपपाप
–कामपा भन्छ, अब शुरू गर्छौं 

काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन । केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ ।

‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भन्नुभयो । ‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उहाँको भनाइ छ । पशु चिकित्सकद्वय डा. अवधेश झा र डा. पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ । ‘बल्ल पसल अनुगमन शुरू गर्न थालेका छांै, वधशाला र चौपाया वध गर्ने स्थानको खासै अनुगमन भएको छैन’ –निर्देशक त्रिपाठीले भन्नुभयो । केही महिनापछि परिणाम आउने गरी काम हुने उहाँले दाबी गर्नुभयो ।

कामपाको अनुगमन टोलीले खाद्यान्न र मासुको एकैसाथ अनुगमन गर्ने गरेको छ । निर्देशक त्रिपाठीले भन्नुभयो– ‘मासु निरीक्षक, भेटेनरी र एक जना प्रशासनको विज्ञ टोलीसहित अनुगमनमा खटिनेछन्, टोलीले परिणाम निकाल्ने गरी काम गरिरहेको छ ।’ सरकारले मासु ऐन जारी गरेको २०५५ सालमा हो । कामपाले ऐनलाई आधार मानेर बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ जारी गरी अनुगमन गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा कामपाले राजधानीका पशु वधस्थललाई व्यवस्थित गर्न ५० लाख रुपियाँ बजेट छुट्टयाएको छ । तर, त्यसलाई कसरी वितरण गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल हुन सकेको छैन । कामपाले उक्त रकम वितरण गर्ने मापदण्ड तयार गरिरहेको दाबी गरेको छ ।

हाल राजधानीका करिब ३ हजारको संख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको संख्यामा सानाठूला पशु वधस्थल छन् । राँगाका लागि २ सय ५० जति वधस्थल छन् । राजधानीको पशु ओसारपसारको अवस्था निकै दयनीय छ । पशु ओसारपसार गर्दा २० फिटको ट्रकमा २४ देखि २६ वटा चौपाया खाँदेर ल्याउने गरेको छ । १२ देखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने गरेको छ ।

‘अहिले पशुवध र बिक्री गर्ने अवस्था सुधारिएको छ । हामीले चौपाया भित्रिँदादेखि वध गर्ने र बिक्री गर्ने स्थलसम्मलाई पूर्ण सफाइ र स्वथ्य बनाउन प्रयास जारी राखेका छौं’ –निर्देशक त्रिपाठीको भनाइ छ । वर्षभरि अनुगमन गर्ने र ऐनअनुसार काम भए नभएको विषयमा तत्काल कारबाही गर्नेगरी योजना तयार गरिरहेको विभागको भनाइ छ । कामपाले यही सोमबारदेखि खाद्यान्न र मासु बिक्रीस्थल अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

हाल कामपाको १९ वडामा मात्रै करिब २२ वटाको हाराहारीमा वधस्थल छन् । पछिल्लो समय बौद्धमा आधुनिक वधशाला निर्माण गरिएको छ । खसीबोकाका लागि वधशाला नै छैन । अधिकांश व्यवसायीले आफ्नो व्यवसायस्थल अघिल्तिर बाटामै राखेर वध गर्ने गरेको पाइन्छ । राजधानीमा दैनिक हजारौंको संख्यामा कुखुरा वध गरिन्छ । मासु व्यवसायीले स्वस्थ मासु बिक्री गरेका छन् कि छैनन् भन्ने विषयमा कामपालाई जानकारी नै छैन ।

एक दशक भयो वास्तै छैन : मनोज नेवाः संरक्षक नेपाल खड्गी समाज

नेपाल खड्गी सेवा समितिका संयोजक मनोज नेवाःले वध गर्ने चौपायाको स्वास्थ्य परीक्षण गर्न माग गरेको एकदशक भइसक्दा पनि काठमाडौं महानगरले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामीले २०६९ सालमा स्वास्थ्य परीक्षण गर्न माग गरेका थियौं, अहिलेसम्म कुनै चासो देखाएको छैन । निकै अव्यवस्थित छ, हामीले मासु ऐन जारी भएलगत्तै हरेक वर्ष स्वास्थ्य परीक्षण गरेर मात्र वध गर्छौं, भनेका थियौं तर कुनै सुनुवाइ भएको छैन ।’

व्यवस्थित वधशाला स्थापना गर्न र सबै मासु पसल अनुगमन गर्न आग्रह गर्दा समेत महानगरले कुनै चासो नदेखाएको उहाँको गुनासो छ । ‘हामी व्यवसायीको माग सुनुवाइ भए महानगरवासीले सधैं स्वस्थ मासु खान पाउने थिए, त्यो अवस्था अहिलेसम्म छैन’ –उहाँको गुनासो थियो ।

‘पछिल्लोपटक महानगरसँग पशु चिकित्सकको व्यवस्था भएकाले केही सुधार हुन थालेको छ, मासुु पसल सफा देखिन थालेका छन् तर त्यहाँ राखिएका मासु स्वस्थ चौपायाको हो कि होइन भन्ने विषयमा गम्भीर हुनु आवश्यक छ’ –उहाँको भनाइ थियो ।

हाल काठमाडौंमा ३ सयको हाराहामीमा पशु वधशाला छन् । तीमध्ये अधिकांश व्यवस्थित हुन सकेका छैनन् । खसीबोकाभन्दा पनि राँगा वध गर्ने वधशाला व्यवस्थित हुनु अति आवश्यक भएको उहाँको भनाइ छ । स्वस्थ चौपायाको मासु खान पाउने सबैको अधिकार हो, रोगी पशुवध गरेको छ कि निरोगी ? यो विषयमा महानगरले चासो दिएको छैन । वधशाला कस्तो अवस्थामा छ, अनुगमन गरेको थाहा छैन । यस्तो गम्भीर अवस्थाप्रति महानगर चुप लाग्दा काठमाडौंवासीलाई समस्या भएको छ ।

पसल व्यवस्थित भए, तर वधशाला जस्ताको तस्तै छ । नयाँ खुलेका मासु पसल आधुनिक बन्दै गएको छ । तर, पुराना पसलको सुधार हुन सकेको छैन । म त भन्छु पहिला वधशालाको सुधार गरांै त्यसपछि पसल व्यवस्थित हुन्छ महानगरवासीले स्वस्थ्य मासु खान पाउनेछन् ।