धनगढीका पत्रकार धामीलाई टाउको फुटाइदिने धम्की, कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

0
Shares

धनगढी।

धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोस्टमा प्रकाशित भएको ‘कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की’ शीर्षकको समाचारको विषयलाई लिएर अवस्थीले फोन मार्फत धम्की दिएको उनले बताए ।

‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दबाब दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु । अब हिसाबकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउँदै भनेका थिए ।

पत्रकार धामीलाई धम्की दिने अवस्थीलाई कारबाही गर्न पत्रकार महासंघ कैलालीले दबाब दिएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा अवस्थीविरुद्ध उजुरी दर्ता गर्दै पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमालय जोशीले अवस्थीमाथि कडा कारबाहीको समेत माग गरेका छन् ।

समाचारको विषयलाई लिएर यसरी धम्की दिनेलाई तत्काल पक्राउ गरेर कारबाही गरियोस् उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पाललाई बताए । पत्रकार महासंघको नेतृत्वका धनगढीका करिब दुई दर्जन पत्रकार अवस्थीलाई कारबाहीको माग लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । पत्रकारको टोलीलाई प्रहरी प्रमुख जोशीले समाचारको बिषयमा धम्की लिने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्ने जनाए ।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती ध्यानाकर्षण भएको जनाउदै प्रेस चौतारी कैलाली, प्रेस चौतारी सुदूरपश्चिम प्रदेश, नेपाल प्रेस युनियन कैलाली लगायतका संगठनले विज्ञप्ति जारी गर्दै अवस्थीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।