‘क्षयरोग’ मुक्त काभ्रेपलाञ्चोक अभियान सुरु

८ महिनामा १ सय ७२ को पहिचान



काभ्रे। 

क्षयरोग मुक्त काभ्रेपलाञ्चोक निर्माणका लागि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपकुमार गौतमको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको छ । समितिमा सरोकारवाला निकायका प्रतिनिधिहरु सदस्य रहेका छन् भने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख. डा पुरुषोत्तम सेढाई समितिमा सदस्य सचिव रहनु भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सुरु भएको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीति तयार गरी क्षयरोग मुक्त नेपाल निर्माणका लागि आर्थिक वर्ष २०९१/२०९२ सम्ममा क्षयरोगको अन्त्य र आर्थिक वर्ष २१०६/२१०७ सम्ममा क्षयरोग निवारण गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रम जिल्लामा पनि सुरु हुन लागेको हो ।

‘तोकिएका कार्यविधि र लक्ष्यलाई समयमै हासिल गर्ने गरी जिल्लामा रहेका १३ वटै स्थानीय तह, सरोकारवाला निकाय, विद्यालय, समुदाय तथा विभिन्न संघ संस्थासँगको सहकार्यमा काभ्रे जिल्लालाई क्षयरोग मुक्त गर्नेर्छाै’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले भन्नुभयो–‘क्षयरोग निवारणसँगै रोग लाग्नै नदिने गरी सचेतनामूलक कार्यक्रम सँगसँगै सञ्चालन गर्ने गरी तयारी गर्छाै ।’ व्यक्ति स्वस्थ रहँदा मात्रै व्यक्तिले गर्ने हरेक क्रियाकलापमा सहभागिता जनाउन सक्ने बताउँदै समन्वय समिति प्रमुख गौतमले अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले जिल्लामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ सय ७२ जना क्षयरोगका बिरामीहरू पत्ता लागेको बताउनु भयो । ‘समुदायका हरेक क्षेत्रमा क्षयरोगका बिरामीहरू फेला पर्न थालेका छन्’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले भन्नुभयो–‘स्क्रिनिङ्ग गरिएका क्षयरोगीहरुले बीच समयमै औषधी छाड्ने गरेकाले रोग अन्य व्यक्तिलाई फैलन सक्ने चिन्ता थपिएको छ ।’

स्थानीय तहमा समुदायमा क्षयरोगको स्क्रिनिङ सुरु गरिएको छ । धुलिखेल र भुम्लुमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ भने अन्य पालिकाहरुमा यो कार्यक्रम सुरु हुन थालेको छ ।

नेपाल सरकारले पहिलो चरणमा देशका २५ वटा स्थानीय तहमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने गरी योजना बनाएको छ । बागमती प्रदेशमा काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाका केही पालिका छन् ।

बागमती प्रदेशमा चालु वर्षको पौष मसान्तसम्ममा ४ हजार ४ सय ३५ जनामा क्षयरोग देखा परेको छ भने अघिल्लो आर्थिक वर्षमा ८ हजार ७ सय ५० जनामा क्षयरोग देखा परेको थियो । प्रदेश सरकारको लक्ष्य भने १ हजार ४ सय ४६ रहेको थियो ।

क्षयरोगका कारणले परिवारमा पर्ने अधिक आर्थिक व्यवहार शून्यमा झार्ने सरकारको कार्यक्रम तथा विश्वलाई क्षयरोग मुक्त बनाउने अभियानले सुरु भएको कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका जितेन्द्रकुमार कर्णले बताउनु भयो । कर्णले कार्यक्रमको लक्ष्य, उद्देश्य, रणनीतिका बारेमा समन्वय समितिको बैठकमा जानकारी गराउनु भएको थियो । जिल्ला स्तरीय समिति पछि पालिका स्तर हुँदै वडा र टोल टोलमा पुगेर क्षयरोग उन्मुलन अभियानलाई सफल बनाउने सहभागीहरूले बताए ।

समन्वय समितिको बैठकमा जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, गैसस, पत्रकार महासंघ, जिल्ला अस्पताल मेथिन्कोट लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेकी फोकल पर्सन सिता श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । बैठकले कार्यक्रम प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने निर्णय गरेको सदस्य सचिव डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्