महाभारत पर्यटन मार्ग निर्माण माग

0
Shares

हेटौंडा ।

महाभारत पर्यटन मार्ग निर्माण गरी राष्ट्रिय गौरवको आयोजना बनाउन माग गरिएको छ । देशको इतिहास बोकेको महाभारत क्षेत्रलाई पर्यटन मार्गका लागि आउँदो आवमा बजेट बिनियोजन गरी देशको गौरवको आयोजना बनाउन उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) वागमती प्रदेशसभा दलका प्रमुख सचेतक रत्न ढकाल, वागमती प्रदेश सदस्यद्वय मातृकाप्रसाद भट्टराई र सुष्पा भुजेलले उपप्रधानमन्त्री श्रेष्ठलाई महाभारत पर्यटन मार्ग निर्माणका लागि आव २०८०–०८१ को नीति कार्यक्रममा योजना समावेश गरी बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको नेतृत्वमा सांसदहरुले करिब ३ सय किमीको उक्त मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने माग गर्नुभएको छ । यसो गर्न सके लाखौं जनता लाभान्वित हुने प्रदेशसभा सदस्यहरुको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले उक्त मार्गलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता गर्नुभएको छ ।

निवेदनमा काठमाडौं उपत्यका–काभ्रे–सिन्धुली र उदयपुर हुँदै सुनसरी जिल्लाको बरहा क्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोड्ने ऐतिहासिक महाभारतको पर्यटन मार्गका रुपमा ललितपुरको ग्वार्को, लाकुरीभञ्ज्याङ्ग, काभ्रेको पनौती, बेथान चोक, ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दीपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तीनखण्डे गँहुबारि, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउने, चौदण्डीगढी हुँदै सुनसरीको चतरासम्मको ऐतिहासिक महाभारत पर्यटन मार्गबाट उक्त क्षेत्रका लाखौं जनता लाभान्वित हुने उल्लेख छ ।

मार्गले आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटन, कृषिलगायत क्षेत्रमा विशेष योगदान पुर्‍याउने भनिएको पत्रमा ग्वार्कोदेखि ढुंखर्कसम्म सडक कालोपत्र भइसकेको र बाँकी खण्डका अधिकांश भागमा ट्रयाक खुलेको बताइएको छ ।

पुल कतै पर्दैनन् । त्यसैले उक्त सडक आर्थिक लागतको दृष्टिले निकै सस्तो हुनेछ । निर्माण समयको हिसाबले पनि कम समयमा निर्माण कार्य सम्पन्न हुनेछ । महाभारत क्षेत्रमा बसाईंसराइको समस्या तीव्र छ । उक्त सडकले ती क्षेत्रको बसाईंसराइ रोक्ने विश्वास छ ।

साँस्कृतिकरुपमा उक्त सडकले नेवा:, तामाङ र किराँत सँस्कृतिलाई जोड्ने छ । अत्यन्त सुन्दर भुगोल भएकाले लाखौं पर्यटकलाई आकर्षित गर्नेछ । सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले कृषि उत्पादन सीधै काठमाडौं उपत्यकामा लगेर कृषकको जीवनस्तर बदल्न सकिने छ । तसर्थ, उक्त मार्गलाई देशको गौरवको आयोजनाका रुपमा विकास गर्न विशेष अनुरोध गरिएको हो ।