आचारबाट आम्दानीको स्रोत बनाउँदै पर्वतको पैंयुका महिला

0
Shares

पर्वत । 

पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पती नै शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु हुन। जानुका श्रीमान् रुक्मांगदका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उहाँ यताउता गर्न सक्नुहुन्न ।

जिल्लाकै नमुना कृषकहरुमध्येको यो एक जोडीले व्यावसायिक रुपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ की व्यावसायिक रुपमा अचार पनि उत्पादन गर्ने। काठमाण्डौँमा रहँदा अचार बनाउने तालिमको बारेमा सुनेको भए पनि उहाँले सिक्ने अवसर बल्ल पाउनुभयो ।

‘फर्म’ मा उत्पादन हुने गरेका तरकारीहरुले कहिलेकाहीँ बजार नपाएको बेलामा कुहिएर जाने गरेको थियो। अब भने उहाँले तरकारीबाटै अचारहरु बनाएर बिक्री गर्ने सोच बनाउनुभएको छ । अकबरे खुर्सानीको पिरो अचारदेखि खसी, कुखुरा र माछाको मासुको समेत अचार बनाउन सिकेपछि एउटा सन्तुष्टि मिलेको बनाउनुभयो ।

‘च्याउ, टिमुर, खुर्सानी,मेथी, तरकारी, अदुवा, लप्सी लगायतबाट निकै स्वादिला अचार बनाउने रहेछन्। मासुबाट बन्ने अचारको पनि राम्रै बजार हुने रहेछ। मलाई यसमा निकै चासो थियो बल्ल सिकेँ’, जानु कुमारी भन्नुभयो ‘अहिले पनि सात सय ग्रामको मासुको अचारको बट्टालाई पाँच सयमा किन्ने रहेछन्। मैले त विशेष गरी तरकारीकै अचारहरु बनाउने हो।’

गाउँपालिकाको लघु उद्यम विकास शाखा मेड्पाको आयोजनामा भएको अचार बनाउने तालिममा सहभागी भएका १८ जना महिलालाई १७ प्रकारका अचारहरु बनाउन सिकाइएको छ। तीमध्येका अधिकांश अचार उत्पादनका लागि गाउँमा रहेका कच्चा पदार्थह प्रयोगमा आउने भएकाले पनि महिलाहरु यसमा व्यावसायिक रुपमा लाग्न सक्ने तालिममा सहभागी कुसुम सुनार बताउनुहुन्छ । ‘पहिले त बाँसबाट मोडा बनाउने तालिम लिन्छु भनेकी थिएँ। महिलाका लागि मोडा उत्पादन गर्नुभन्दा भान्सामा गर्दै आएको कामसँग मिल्ने अचार उत्पादनमा लाग्दा ठिक हुने मानेर तालिम लिएकी हुँ’, कुसुम भन्नुहुन्छ ‘बसेको बेलामा उत्पादन गर्न सकिने भएकोले खाली हुने समयमा पनि कमाई हुने जस्तो लाग्छ। हामीले बनाएका अचार गाउँपालिकाले बिक्री गर्नका लागि ठाउँ खोजिदियो भने राम्रो हुने थियो।’

गृहिणीको काम गर्दै आइरहेका महिलाहरुलाई त्यसमा मात्रै सीमित नराखी फुर्सदको समयमा आम्दानीमूलक काम गर्न सकुन् भन्ने उद्देश्य राखेर तालिम चलाइएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी बताउनुहुन्छ ।  कसैकोमा तलबी रुपमा बसेर निश्चित आम्दानी गर्नु भन्दा आफैले व्यावसायिक रुपमा काम गर्न सकेमा आम्दानीको सीमिततामा बस्नु नपर्ने पनि उहाँको भनाइ छ।