प्रेमीको छुरा प्रहारबाट घाइते प्रेमिका उपचार अभावमा मृत्युसँग लड्दै 

0
Shares

भद्रपुर ।

प्रेमीको छुरा प्रहारबाट सख्त घाइते भएकी प्रेमिका उपचार अभावमा मृत्युसँग लडिरहेकी छन् । जिन्दगीभरि कहिल्यै नछुटिने गरी झापा कनकाई ३ कालिस्थानकी ३८ बर्षिया विना लिम्बू र सोही नगरपालिका ३ भीमसेन स्थानमा डेरा गरी बस्ने पदमबहादुर कुमालबिच प्रेम विवाह भएको थियो । सात महिना अघि प्रेम विवाह गरेका  ती जोडीमाथि श्रीमानले दिनहुँ गरेको मादक पदार्थ सेवन नै  कारक बन्न पुग्यो ।

श्रीमानले मादक पदार्थ खाएर विनासँग दिनहुँ झैझगडा गर्ने र कुटपिट गर्ने क्रममा पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन पदमबहादुरले श्रीमती विनाको पेटमा छुरा र टाउकोमा फलामको घनले हानेर सख्त घाइते बनाए । विनाले विवाह गर्दा श्रीमानसँगै जिउने कल्पना गरेकी थिइन् । तर,विवाहको खुसी भने लामो समय टिकेन । बेलाबखतमा झगडा हुँदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बूले आएर सम्झाई बुझाई मिलाएर राख्ने गरेको स्थानीय मेघराज पाठकले बताउनुभयो ।

घट्नापछि श्रीमतीलाई घाइते बनाउने पदमबहादुर प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ भने उपचार अभावमा विना मृत्युसँग पैठेजोरी खेल्दै आएकी छन् । कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरी बसेको कुमाल परिवारले जनमन गर्दै आएको थियो । हतियार प्रहार गर्ने पदमबहादुरलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

घाइते विनालाई स्थानीय गाउँले र घाइतेका दाजु भाउजूले चन्दा सङ्कलन गरेर केही दिन झापा र धरानको घोपामा लगेर उपचार गराएका थिए । थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर खेप्नुपरिरहेको घाइतेकी भाउजू निर्मला लिम्बूले बताउनुभयो ।

सोमबहादुर पनि जनमन गरेर परिवार पाल्दै आएको र गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु लिम्बुले बताउनुभयो । उपचार अभावमा घाइतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको निर्मलाको भनाइ छ । टाउकोको घाउ कान तिर सर्दै कालो रगत आइरहेको उहाँले सुनाउनुभयो । इलाका प्रहरी बिर्तामोडले घाउँजाँच फारम भर्नु भनेपछि बिरामीलाई समेत लिएर बुधबार इलाका गएर फारम भरेपनि रकम अभाव भएको उहाँले जानकारी दिनुभयो ।

पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गरेका छन् । यसबारेमा केही बुझ्न परेमा विनाका दाजु सोमबहादुर लिम्बूको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस विना बचाऊ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको नाममा रहेको सनराईज बैँक लिमिटेड सुरुङगा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिन सबैसँग अनुरोध गरेका छन् ।