लुम्बिनीमा एकसाथ पाँच सय जना बने अल्पकालीन भिक्षु 

0
Shares

बुटवल ।

लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सह आयोजनामा बिहीबार मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्यामा (अल्पकालीन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरे । अल्पकालीन भिक्षुहरुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियमा आफूलाई रूपान्तरण गर्नुपर्ने छ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिएपनि बिहीबार मात्रै उनीहरुले प्रवज्यामा गरी अल्पकालीन भिक्षुका रुपमा पहेँलो चीवर लगाउन योग्य भएका हुन ।

चीवर प्रदान एंव कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय)ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालीन समयका लागि भएपनि प्रव्रज्यामा सहभागी हुनेहरुलाई स्वागत गर्नु भयो । उहाँले बुद्ध जन्मेकै देशका नागरिकहरु यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान कार्य रहेको बताउनु भयो । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिकै आएर प्रव्रज्या (अल्पकालीन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकरात्मक रहेको उहांको भनाई छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थविर शोभनले भिक्षु संघको निर्देशन अनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरुलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अगाल्न आग्रह गर्नु भयो । बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्यामा( अल्पकालीन भिक्षु ) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनु भयो ।  एकै दिन ५ सय जना अल्पकालीन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने बताउनु भयो । कोभिडअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एंव कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनु भयो ।

कोभिडका कारण अहिले संख्या घटाएर ५ सय गराइएको र आगामी दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराइने योजना रहेको शाक्यले बताउनु भयो । प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरु विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोबोध भिक्षु लगायतको उपस्थिती थियो । प्रव्रज्यामा नेपालका २० बढी जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालीन भिक्षुहरुको समय सकिनेछ ।