एनआईसी एसियाका कर्मचारीमाथि सांघातिक आक्रमण, दोषीमाथि कारबाही गर्न माग

0
Shares

काठमाडौँ।

म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको कर्मचारीमाथि सांघातिक आक्रमण भएको छ। जिल्लामा रहेको बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ।

आक्रमणमा परि उनीहरु घाइते भएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको शृङ्खला आज ज्यान लिने गरी घटाइएको सीबीफीनले जनाएको छ।

सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको घोर भर्त्सना गर्दै सीबीफीनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।