नेपाल मै पहिलो पटक गणित पार्कको सुरुवात 

0
Shares

काठमाडौँ । 

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक म्याथ पार्कको सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुवात गरिएको हो ।

बुढानीलकण्ठमा रहेको ईम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ ।  पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर उक्त पार्कको आज उद्घाटन गरिएको छ ।  प्रमुख अतिथि विज्ञान प्रविधि सचिव प्रमीलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरेकी हुन् ।

म्याथ पार्कमा विद्यार्थीहरुले म्याथलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न  म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै म्याथ पार्कमा गणितका नयाँ कुराहरु सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।

विज्ञान प्रविधि सचिव प्रमीलादेवी बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन । उनले साइन्स र म्याथ प्रति विद्यार्थीको आकर्षण कम हुने गरेको बताउँदै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा राखिन ।

मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पुरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकहरुलाई यस बारे तालिम दिन तयारी गरेको समेत उनले जानकारी दिइन ।

नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन । म्याथका बारेमा किताब र कक्षा कोठामा मात्रै पढाइने भन्दा पनि यसरी विद्यार्थीले प्रयोग नै गरेर पढ्न पाउँदा यसले शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुन्ने उनको भनाइ थियो ।

अंग्रेजी जानी नजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए । उनले भने “अंग्रजी नजाने पनि बोल्ने प्रचलन छ । तर, गणित आउँदैन भन्ने र यसलाई महत्त्व नदिने गरेका पाइन्छ ।”


पन्तले गणित विना कुनै पनि अध्ययन पुरा नहुने र साइन्स, फिजिक्स, कम्प्युटर साइन्स लगायतलाई अनिवार्य आवश्यक रहेकोले गणितको महत्त्व रहेको धारणा राखे । साथै विद्यार्थीलाई गणित सिकाइ कक्षा कोठामा मात्र नभई पार्कसँगै लगेर जोड्नुपर्नेमा जोड् दिए ।

विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको म्याथ विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको बताइन । गणित विषय सबैका लागि कठिन हुने बताउँदै रमाइलो तरिकाले गणित पढ्नको लागि सहज होस भन्ने उद्देश्यले यसको सुरु गरिएको बताइन । कार्कीले आफ्ना विद्यार्थीले मात्रै नभएर निजी, सार्वजनिक जुनसुकै विद्यालयका विद्यार्थीहरुले पनि पार्कको अवलोकन गरेर गणित पढ्न सक्ने जानकारी दिइन ।