रोबोटबाट उद्घाटन गरिँदै क्यान प्रदर्शनी

0
Shares

हेटौंडा ।

हेटौंडामा पहिलो पटक प्रविधिबाट प्रदर्शनी उद्घाटन हुने भएको छ । चैत २ गतेबाट हेटौंडामा हुने ‘आइकनसफ्ट क्यान इन्फोटेक’ वागमती प्रदेशस्तरीय प्रदर्शनीको रोबोटले उद्घाटन गर्ने भएको हो ।

नयाँ इलेक्ट्रोनिक्स सामग्रीको प्रदर्शनीका रुपमा रहेको मेला उद्घाटनका क्रममा हेटौंडामा पहिलो पटक रोबोट प्रयोग गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुरले जनाएको छ ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदर्शनी आयोजक समिति संयोजक क्यान प्रदेश अध्यक्ष पुष्पराज पुडासैनी फरकशैलीको कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउनुभयो । ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने प्रदर्शनीमा देशभरमा १० जिल्लाका वैज्ञानिकले बनाएको रोबोट प्रतियोगिता हुने बताइएको छ ।

प्रतियोगितामा हेटौंडा, बुटवल, काठमाडौं, बिराटनगर, चितवनसहित जिल्लाबाट सहभागी हुनेछन् भने प्रदेशस्तरीय प्रदर्शनीमा ३२ वटा टोलीको सहभागितामा पब्जी प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा मोबाइलसहित अन्य इलेक्ट्रोनिक्स प्रविधिको फ्रिसर्भिस क्याम्प रहने बताइएको छ । प्रदर्शनीमा चैत ३ गते साइवर सुरक्षासम्बन्धि सेमिनार, ४ गते कृषि उत्पादन तथा प्रवद्र्धनका लागि डिजिटलाइजेसन र ५ गते नेटवर्किङ र सीसीटीभी सम्बन्धि सेमिनार हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

३० लाख खर्च आँकलन गरिएको प्रदर्शनीको ५० हजार दर्शकले अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजकका अनुसार प्रदर्शनीस्थल प्रवेशका लागि सर्वसाधारणलाई २५, विद्यार्थीलाई १० रुपियाँ टिकटदर तोकिएको छ ।

हेटौंडामा ७ वर्षअघि भएको क्यान मेलापछि हाल नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी आयोजना गर्न लागिएको हो ।