स्वास्थ्य बीमामा बेथिति, उपचार भन्दा सास्ती बढी



काठमाडौँ । 

स्वास्थ्य बीमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन  र बिरामीहरुले निकै  सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बीमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।

आम नेपालीहरुको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ । तर समय समयमा  सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्यता नै गुम्ने सम्मको अवस्था सृजना हुनुले स्वास्थ्य बीमा प्रतिको नैराश्यता मात्र नभै बिरामी जटिल समस्यामा परेका छन् ।

आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजे सम्म सर्भर डाउन हुँदा देशभरिका लाखौँ बिरामीले सास्ती भोग्नुपर्‍यो । यस विषयमा स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भु प्रसाद ज्ञवाली भन्नुहुन्छ–बेला बेलामा यस्तो समस्या आई रहन्छ तर यति लामो समय समस्या आएको यो पहिलो पटक हो । नेपालको स्वास्थ्य बीमाको सर्भर तयार पार्ने कन्सल्टेन्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ  । अझै पनि एपिआई लिंकमा समस्या भएकाले फाइल पठाउन मिले पनि सहज भैनसकेको उहाँले बताउनुभयो ।

शनिवार बिदा भएकाले आइतबार काठमाडौँ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुरस्थित कोरियन अस्पताल लगायतका देशै भरिका आम नागरिकको पहुँच हुने अस्पतालहरुमा बिहान ७ बजे देखि नै टिकट लिनेको भिड थियो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजु भन्नुहुन्छ–सर्भर नै डाउन भएपछि हामीले केही गर्नै सक्दैनौ ।

सर्भर बिहान ४ बजेदेखि नचलेको भएपनि बीमा बोर्डको प्राविधिक शाखा १० बजेपछि खुल्ला हुने हुँदा थप समस्या आयो । कति आकस्मिक रुपमा र नियमित परीक्षणका लागि आएका बिरामीलाई पैसा तिरेर टिकट लिनुस् भन्न रजिष्ट्रेशन शाखामा कार्यरत कर्मचारी बाध्य भए । उनीहरुले बिरामीको प्रश्नको उत्तर दिन सक्ने अवस्था नै थिएन । कति बिरामीले बीमा छ भनेर साथम पैसा नलिई टाढा देखि अस्पताल आएका छन् । उहाँहरुलाई घण्टौँ लाइन बसाएर टिकट दिन नसक्दै दु:ख लागेकोछ ।

त्यसैगरी ट्रमा सेन्टरका सूचना अधिकारी रमेश चापागाईँले पनि सर्भर डाउन हुँदा बिरामीलाई मर्का परेको बताउनुभयो । यता बीमा बोर्डका प्रवक्ता ज्ञवालीले एउटै मात्र सर्भर भएका कारण यो समस्या आएको विषयमा नेपाल सरकार जानकार छ । विगत बर्ष देखिनै अर्को सर्भर हेटौडामा राख्ने योजना पेश गरिसकिएको भन्नुहुन्छ । यसरी सर्भरको सेवा वितरण ठूला र साना अस्पताले चलाउँने फरक हुन्छ । धेरै ठूला अस्पतालमा सेन्ट्रल सर्भर डाउन हुँदा हजारौँ बिरामीलाई सास्ती हुन्छ र व्यवस्थापन पक्षलाई पनि उत्तिकै गाह्रो हुन्छ । तर हामीले गर्न सक्ने खासै केही छैन ।

स्थ्स्वास्थ्य बीमा बोर्ड नेपाल सरकारको एक सामाजिक सुरक्षा कार्यक्रम हो । यसले नागरिकहरूलाई आर्थिक बोझ नराखी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच गर्न सक्षम बनाउने लक्ष्यका साथ अघि सारेको कार्यक्रम हो । यस कार्यक्रममा घरपरिवार, समुदाय र सरकार प्रत्यक्ष रूपमा संलग्न छन् । स्वास्थ्य बीमा कार्यक्रमले आपसी सहयोगको साथ पूर्व भुक्तानी र जोखिम संकलन संयोजन गरेर स्वास्थ्य सेवा लागतहरू जस्तै दुर्घटना वा रोगको कारण विनाशकारी खर्चका कारण मानिसहरूलाई गरिबीमा पर्नबाट रोक्न मद्दत गर्छ भन्ने सरकारको धारणा रहेको प्रवक्ता ज्ञवाली बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्