ठगी धन्दामा प्रहरीको दुरुपयोग, प्रशासन मौन

सीमान्त गुरु यस अघि समेत ठगी मुद्दामा सजाय भोगेका व्यक्ति

0
Shares

पोखरामा छोएर वा हेरेर नै निको पार्ने भन्दै सीमान्त गुरु भनिने व्यक्ति तथा आयोजना गर्नेले प्रहरीको दुरुपयोग गर्दा समेत प्रशासन मौन बसेको छ । पोखराका व्यवसायी भरत केसीले सीमान्त गुरु भनिने व्यक्तिलाई पोखरामा ल्याएर छोएर वा हेरेर नै निको हुने भन्दै ३ दिनसम्मको एक कार्यक्रमको आयोजना गर्ने तयारी गरे पनि ठगी भएको भन्दै पहिलो दिनमै रोकिएको थियो ।

कार्यक्रममा विवाद हुन सक्ने भन्दै भरत केसीले शान्ति सुरक्षाका लागि प्रहरी मागेका थिए । सोही अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको स्वीकृतमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई प्रहरी खटाएको थियो ।

उक्त सीमान्त गुरु भनिने भरत भट्टराई यस अघि समेत ठगी आरोपमा पक्राउ परि कारागार बसेको खुल्न आएको छ । पोखरामा प्रशासन र प्रहरीकै संरक्षणमा रहेर खुलेआम असुली गरेका भट्टराईको चौथो नागरिकताको प्रतिलिपि अनुसार उनी झापा गरामनी गाविसमा जन्मिए पनि मोरङको पथरीमा स्थायी बसोबास गर्दै आएका छन् । ४६ वर्षे भट्टराई केही समय विदेश बसी नेपाल फर्केर मानिसहरुलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए । स्रोतका अनुसार सर्वोच्च अदालमा उनी विरुद्ध अझै ठगीको मुद्दा  बाकिँ छ ।

प्रहरी भएपछि नागरिकलाई समेत छोएर वा हेरेर नै निको हुन्छ की भन्ने विश्वास जागेको थियो । गलत प्रचारकै कारण त्यहाँ विरामीहरु पुगेका थिए । उक्त शिविरमा जाने बिरामी घरमा बस्ने नभई अधिकांश अस्पतालका थिए । ‘खै सन्चो हुन्छ भनेर गएको हुँ । मलाई सुगर छ । समाचार नै आएको कारणले गएको हुँ’ त्यहाँ पुगेका एक मधुमेहका बिरामीले भने । अहिलेसम्म त्यस्तो परिवर्तन त देखिएको छैन ।’

सीमान्तले यसअघि सुर्खेतमा प्रति व्यक्ति दुई हजारका दरले लिँदै दुई हजार बढीलाई हेरेका थिए । पोखरामा भने गैरकानूनी रुपमा उठाएको एक लाख २३ हजार रुपैयाँ जफत गरे पनि असुली गर्ने सबैलाई छाडिएको छ ।

स्रोतका अनुसार अहिले पनि ती सीमान्त गुरु भनिने व्यक्ति पोखरामै छन् । उनले पोखराका विभिन्न होटेलमा बसी त्यसरी नै रकम लिँदै काम गरिरहेका छन् । कास्की प्रशासन स्रोतका अनुसार उनलाई कारबाही हुनु पर्ने हो । तर प्रशासन भने मौन बस्नु अचम्मको कुरा हो । ‘अचम्मको कुरा त अझ भरत केसीलाई समातेर ल्याउने तर ती गुरु भनिनेलाई छाड्ने गरेको देखियो । यस्तो नि हुन्छ र ? जसले भ्रम फैलाएको छ उ कहाँको हो के हो भन्ने खोजतलास गर्नुपर्नेमा त्यसै छाडेको छ । मैले सुने अनुसार अझै पोखरामै बसेर धन्दा चलाइरहेका छन् ।’

प्रशासनकै स्वीकृतमा प्रहरीको सुरक्षा सिडिओ र एसपीलाई जानकार नै छैन। प्रहरीलाई नै साक्षी राखेर खुलेआम नागरिकबाट रकम असुली गर्ने व्यक्तिलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भिआई कक्षबाट ल्याइएको थियो । विमानस्थलमा भिआईपि आउने ठाउँमा छुट्टै सुरक्षा व्यवस्था हुने गर्छ । प्रहरी सुरक्षामा नै ठगी किन भनेर प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीको एउटै जवाफ थियो ‘भिडभाड भएका कारण के भएछ भनेर हेर्न मात्र गएका हुन् ।’

दुई प्रमुखको यो कुरा सोही दिनको अनुगमनले गलत साबित गरिदिएको थियो । सहायक सिडिओ सहितको टोलीको अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको अनुमतिमा नै शान्ति सुरक्षाका लागि प्रहरी खटाएको थियो ।

अझ रोचक तथ्य के हो भन्दा प्रहरीको सुरक्षामा त्यो गतिविधि भइरहँदा वडा प्रहरी कार्यालय वैदाममा त्यो सबै कुरा पुगेको थियो । करिब कार्यक्रम चलेको दुई देखी तिन घण्टाको बीचमा वडा प्रहरी कार्यालय वैदामका इन्स्पेक्टर आएर हेरेर पनि गए । तर कारबाही भने भएन । त्यसपछि जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा खबर पुगेपछि भने दबाबका कारण अनुगमनका लागि पुगेको थियो । त्यति बेला प्रमुख जिल्ला अधिकारी टेबबहादुर केसीले गैर जिम्मेवारी जवाफ सहित झुट समेत बोलेका थिए । उनलाई फोन मार्फत ठगी धन्दा भयो अनुगमन गर्न प¥यो भन्दा उनको जवाफ थियो, ‘यो विषयमा हामीलाई केही निवेदन आएको छैन । कहीँ कतै ठगिएको भनेर दुई लाइनमात्र आएपनि हामी अनुगमन गर्छौ ।’ त्यति बेला उनलाई फोनमै जानकारी गराइएको थियो ।

‘त्यसो भए यसो भो मैले त्यहाँ प्रहरी छ भन्ने बुझेर मैले के भन्छु भने साथीहरूलाई जिल्ला प्रशासनलाई त्यो केही थाहा छैन । त्यो जिल्ला प्रशासनलाई थाहा भएको विषय पनि होइन । जिल्ला प्रशासन कार्यालयबाट कुनै अनुमति पनि लिएको छैन’ उनले भनेका थिए,‘मैले जिल्ला प्रहरीमा सम्पर्क पनि गरे एसपी साबले त्यहाँ भिड किन भयो भनेर त्यो त राज्यको निकायले त भिड किन भयो भनेर गएको रहेछ । मैले सोधेँ । त्यहाँ कुनै सुरक्षा दिन गएको पनि थाहा पाएका छैनौँ । त्यहाँ व्यक्ति आफूखुसी गएर केही गर्ने विषय छुट्टै रह्यो ।’

उता एसपी अजय केसीले पनि प्रहरी भिडभाड देखेर गएको बताएका थिए । त्यति बेला उनले भनेका थिए, ‘प्रहरी खटिएको होइन के रहेछ भने बुझ्न गएको हो खासमा त्यहाँ भिडभाड भएको भनेर । त्यो बुझेपछि जिल्ला प्रशासन कार्यालयमा हामीले रिपोर्ट पनि गरेका छौँ ।’ तर प्रहरी कतिबेला गएको भन्ने कुरा भने वैदाम प्रहरीसँग बुझ्नुपर्ने बताएका थिए ।

अनुगमनको क्रममा सहाय जिल्ला अधिकारी गुरुदत्त ढकालले शिविर गैर कानुनी भएको बताएका थिए । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान हुदैँछ भन्दै किनारा लगाइरहेको छ ।