हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने म्याद थप



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएको छ ।

यसअघि फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने समयसीमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो ।

कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन भईरहेको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधी खुवाइने छ ।

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, वागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको बाँके, कपिलवस्तु र दाङ, सुदुरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान जारी छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडाकार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस्