उपराष्ट्रपतिका लागि चार जनाको मनोनयन दर्ता

0
Shares

काठमाडौं । यही चैत्र ३ गते शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ ।

राजधानीको बानेश्वरस्थित संघीय संसद्को परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार सत्ता गठबन्धनबाट तीन जना र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट एक जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।

मनोनयन दर्ताको लागि बिहान ९ बजेदेखि ३ बजेसम्म समय तोकिएको थियो । आठ दल आबद्ध रहेको सत्तागठबन्धनबाट जनता समाजवादी पार्टीका नेता रामप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिनुभएको थियो । जनमत पाटीबाट ममता झा र नेकपा (एमाल)को तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिनुभएको थियो । सत्ता गठबन्धनबाट साझा उम्मेदवारी कसलाई गराउने भन्ने निर्णय गर्न नसकेपछि तीन जनाको उम्मेदवारी परेको हो ।

यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहनुभएको छ भने रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक रहनुभएको छ ।

प्रमिला यादवका प्रस्तावकहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहनुभएको छ भने अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ समर्थक रहनुभएको छ। त्यसै गरी जनमत पार्टीकी सांसद झाको प्रस्तावमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ भने समर्थक भने गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहनुभएको छ ।

नेकपा एमालेको तर्फबाट शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ हुनुहुन्छ भने कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल भने समर्थकमा रहनुभएको छ। आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ।

यसैबीच नेकपा एमालेले संविधानको व्याख्याअनुसार महिला उम्मेदवार हुनुपर्ने भन्दै जसपाका नेता यादवविरुद्ध उजुरी दिएको छ । यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस–आर्यबाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति रामचन्द्र पौडेल निर्वाचित हुनुभएकोले उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।
यसले गर्दा जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार बनाइएको थियो । फागुण २८ गते उम्मेदवारउपर उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावली फिर्ता लिने र अन्तिम नामावली प्रकाशित हुनेछ ।