कृषिमा प्रमुख नहुँदा विकासका योजना अलपत्र

0
Shares

मुगु। 

जिल्ला कृषि विकास कार्यालयमा ४ महिनादेखि प्रमुख नहुँदा विकास निर्माणका १ सय ३० योजना अलपत्र परेका छन् । यसअघिका कार्यालयका प्रमुख खेमराज शाही मंसिर १० गते सरुवा भई जिल्ला बाहिर गएपछि उनको ठाउँमा तिलकप्रसाद पाण्डेयलाई पठाइएको थियो । उनी कार्यालयमा हाजिर भएको एक साता नबित्दै सरुवा भएर गएपछि उनको ठाउँमा कोही पनि नआउँदा विकास निर्माणको कामकाज ठप्प भएको हो ।

निमित्तलाई आर्थिक अधिकार नहुँदा यो वर्ष रकम विनियोजन भएका कुनै पनि योजनाको काम सुरु हुन सकेको छैन । यो वर्षका लागि कार्यालयमा १ सय ३० वटा योजनामा बजेट विनियोजन गरिएको छ । ‘कार्यालय प्रमुख नहुँदा आर्थिक कारोबार पनि ठप्प छ,’ लेखा अधिकृत कृष्णबहादुर सेजुवालले भने, ‘प्रमुख भएको भए आधा योजना यति बेलासम्म सकिएका हुन्थे, अरू योजनामा पनि धमाधम काम हुन्थ्यो, सबै योजनाको लिस्ट दराजमै थन्किएको छ ।’ प्रमुख नहुँदा कार्यालय पनि सुनसान हुने गरेको उनले बताए ।

यस वर्ष कार्यालयका लागि १२ करोड रुपैयाँ निकासा भएको छ । उनले अब आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहेकाले ठूलो रकम फ्रिज जाने जोखिम बढेको बताए । लेखा अधिकृत सेजुवालका अनुसार कार्यालयमा यो वर्ष सम्पन्न गर्नुपर्ने ९० वटा मात्र सिँचाइका योजना छन् । ती योजना सञ्चालन गर्न अहिलेसम्म उपभोक्ता समितिसमेत गठन भएको छैन । स्याउ–ओखर व्यवस्थापन कार्यक्रम पनि अलपत्र परेको उनले बताए ।

हिमपातका बेला माघमै उक्त कार्यक्रम सञ्चालन गरी स्याउ र ओखरका बिरुवा खरिद गरी समुदायमा वितरण गरिसक्नुपर्ने छ । फागुन अन्तिमसम्म पनि व्यवस्थापनको काम हुन सकेको छैन । प्रमुख कार्यालयमा नहुँदा कार्यालयमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषक लाभदायक कार्यक्रम, अनुदान वितरणलगायतका योजना पनि सुरु हुन सकेका छैन। सान सिचाइको योजनाको निर्माण समिति गठन गरेर फाइल जिल्ला कृषि कार्यालयमा फाइल पेस गरेको  ७ महिना भयो कृषि कार्यालयमा सम्झौता गरेको  ७ महिना भई सक्यो हाकिम छैनन् भनेर सम्झौता नभएको भनेर कृषिका कर्मचारीले फर्काउने गरेको कुरा सोरु गाउँपालिका वडा नं ८ का सर्वसाधारण नन्दराज रावलले बताए  ।