मुस्ताङको भ्रमण गर्ने पर्यटकको संख्या बढ्यो

0
Shares

म्याग्दी ।

हिमालपारीको जिल्ला मुस्ताङ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गरेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आईसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैचा रहेको छ ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ (माटोको सहर)को चिनिन्छ ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतको बीचमा हुने व्यापारको राजश्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालय समेत रहेको छ । यसैगरी छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्रहरु उपल्लो मुस्ताङमा रहेका छन् । गएको वर्ष सन् २०२२ मा विदेशी पर्यटकहरु ६५ हजार ९ सय ४० जनाले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर र उच्च जोखिम घटेपछि अहिले मुस्ताङमा पर्यटक पुग्न थालेका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटकहरु कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् । यसका साथै मार्फाको स्याउ बगैचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाहरुको अवलोकन तथा भ्रमणमा वर्षेनी पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानहरुमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकहरुबाट अधिकांश पर्यटकहरु विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट पनि मुस्ताङ घुम्न जाने पर्यटकहरुको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मुस्ताङ भं्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाई मार्गबाट पनि पुग्ने गर्दछन् ।