सामाजिक सञ्जालमा आकर्षक तलब देखाएर ठगी गर्ने चार जना पक्राउ 

0
Shares

भद्रपुर । 

सामाजिक सञ्जालमा विज्ञापनमार्फत आकर्षक तलबको लोभ देखाएर रकम ठगी गर्ने चार जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिलिगुडीमा रहेको ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिमा आकर्षक सेवा सुविधासहित रोजगार पाइने भन्दै नेपालीहरुलाई लिएर जाने र उनीहरुबाट तालिम शुल्क भनेर ठगेको पाइएको हो ।

यसरी ठगी गर्दा पक्राउ पर्नेहरुमा कैलाली लम्कीका कृष्ण देवकोटा , सङ्खुवासभाका मनिष कार्की , झापा कचनकवलका तीर्थ सिग्देल र सोही ठाउँका रोशन तामाङ रहेका छन् । नेपालीहरुलाई भारतको सिलिगुडी लगेर ठगी गर्दै आएका उनीहरुलाई अन्यलाई पनि लैजान लागेको अबस्थामा भद्रपुर विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कव्जाबाट उम्केर बिर्तामोड ३ की ज्योति राजवंशी , मोरङ बेलबारीका नविन राजवंशी , बर्दियाकी लक्ष्मी चौधरी थारु , मकवानपुर हेटौडा ५ की सीता दराई , पर्सा गढी गाउँपालिकाका अजित तामाङ आइपुगेका छन् ।

पीडितहरुले शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगीसम्बन्धी उजुरी दिएका छन् । ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिका सञ्चालकहरुले सीता दराईबाट २५ हजार ,अजित तामाङबाट २६ हजार , ज्योति राजवंशीबाट २० हजार , नविन राजवंशीबाट २० हजार , लक्ष्मी चौधरी थारुबाट २५ हजार रुपैयाँ लिएको पीडितहरुले बताएका छन् ।

आफूहरुलाई महिनाको २५ देखि ३० हजार भारु कमाई हुने भन्दै लिएर गएको र तालिम शुल्क भनेर सबैबाट रकम ठगी गरेको सीता दराईले बताउँनुभयो ।  गार्मेन्ट फ्याक्ट्रीको लुगा अनलाइन बिक्री गर्नुपर्छ भनेर  लिएर गएको पीडितको भनाइ छ । तालिम भनेर दिसापिसाव गर्न जान नदिने , मोबाइल खोस्ने काम गरेको सीताको भनाइ छ । राम्रै कमाइ हुन्छ भनेर गइयो पछि बुझ्दै जाँदा ठगिएको थाहा भएको उहाँको भनाइ छ ।

करिब  एक महिनाअघि गएकी बिर्तामोड ३ की ज्योति राजवंशीले आफ्नो पैसा ठगेको र काम गरेको पैसा पनि नपाएको बताउँनुभयो । फेसबुकमा विज्ञापन हेरेर गएको र अरुजस्तै ठगीमा परेको जनाउँनुभयो । पक्राउ पर्नेहरु एजेन्ट भएको र उनीहरुको मुख्य नाइके भारतीय नागरिक राहुल शाह भएको बताइएको छ ।

नेपालबाट जानेहरुलाई बन्धकजस्तै राखेर बिहान ११ देखि बेलुका ५ बजेसम्म तालिम दिने , पुरानोसंग नयाँहरुलाई बोल्न नदिने , मोबाइल खोस्नेजस्ता व्यवहार गरिएको पीडितहरुले जनाएका छन् ।

त्यस कम्पनीमा अन्य धेरै नेपालीहरु रहेका छन् । सिलिगुडीको तपन मार्केटमा ५ वटा होस्टेलमा नेपालीहरुलाई राखिएको छ । पीडितहरुले दिएको उजुरीको आधारमा ४ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताउँनुभयो । त्यस विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय प्रहरीको सहयोगमा ठगिएका र फसेका अन्य नेपालीहरुलाई पनि उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।