पनौती नगरपालिकाले गर्‍यो बाह्रौँ सभा

0
Shares

काभ्रे। 

पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार पनौतीमा सम्पन्न भएको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत विधेयकहरु पास भएको छन् । साथै समसामयिक विषयमा उठेका विषयहरुको सम्बोधन गर्दै चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा समीक्षा भएको छ ।

चालु आर्थिक वर्ष २०७९/२०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गर्नु भएको थियो ।

त्यस्तै वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले चालु आर्थिक वर्ष २०७९/२०८० को यस अवधिसम्मको आय व्यय अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आर्थिक वर्षको उपलब्धिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष जयराम केसीले चालु वर्षको न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष विनोद खत्रीले योजना अनुगमन तथा फरफारक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष भिमप्रसाद आचार्यले विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष सहकुल कुमार हुमागाईँले एघारौँ नगर सभा पश्चात् हालसम्म भएका कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरू अनुमोदन समवन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

त्यस्तै वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्बन्धी विधेयक २०७९ पेस गर्नु भएको थियो भने वडा अध्यक्ष सविन ताम्राकारले गैरसरकारी संघ संस्था दर्ता सम्बन्धी विधेयक २०७९ पेस गर्नु भएको थियो । वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०७४ मा पहिलो संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो । वडा अध्यक्ष दीपकप्रसाद दाहालले धन्यवाद प्रस्ताव पेस गर्नु भएको थियो ।

सभामा पेस भएका प्रस्ताव उपर भएको छलफल तथा सभाका सदस्यहरुले उठाएका सार्वजनिक महत्वका विषयहरूलाई सम्बोधन गर्दै आगामी कार्यपालिका तथा योजनाहरुमा समेटने गरी छलफल सहित प्रस्तावहरु पास भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो । कानुन अनुसार उक्त सभामा पौष मसान्त भित्र सम्पन्न गर्नु पर्ने थियो ।

नगरपालिकाले केही समय अघि मात्रै विषयगत समितिहरु गठन गरेको छ । वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारी प्रस्ताव प्रस्तुतकर्तामा आफ्नो नाम समावेश हुन नसकेकोमा अपमान भएको भन्दै बैठक बहिस्कार गर्दै बाहिरिएका थिए । एमाले निकट सदस्यहरुले पनि विविध विषयमा धारणा राख्दै सम्बोधनको माग राखेपछि केही बेर बैठक स्थगित गरेर सहमति गरिएको थियो ।