बलिउड अभिनेता कौशिक रहेनन्



दिग्गज बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान १ः३० बजे निधन भएको छ।

६६ वर्षका उनको हृदयाघातका कारण दिल्लीस्थ्ति गुरुग्राम अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

समाचारअनुसार मंगलबार मुम्बईस्थित अभिनेत्री सबना आजमीको घरमा होली मनाएर बुधबार परिवार तथा आफन्तका साथ होलीमा सहभागी हुन दिल्ली पुगेका उनको स्वास्थ्यमा अचानक राति ११ बजे समस्या आएको थियो। राति नै स्वास्थ्यमा समस्या बढेपछि उनको पारिवारिक सदस्यले अस्पताल पुर्याएका थिए।

उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको थियो भने पोस्टमार्टमपछि शवलाई मुम्बईस्थित उनको निवासमा पुर्याइएको उनको बिहीबार नै दिल्लीमा अन्तिम संस्कार गरिएको छ। उनको निधनमा शोक व्यक्त गर्दै भारतीय गृहमन्त्री अमित शाहले ट्विटरमा लेखेका छन्, अभिनेता, निर्देशक तथा लेखक सतिश कौशिकजीको निधनले म अत्यन्तै दुःखी छ । कला क्षेत्रमा उनको योगदान स्मरणीय छ। उहाँको प्रशंसक तथा परिवारप्रति मेरो गहिरो समवेदना। त्यस्तै अभिनेता अनुपम खेरले सतिशका साथ ४५ वर्षको मित्रताको स्मरण गर्दै उनको निधनमा दुःख व्यक्त गरेका छन् भने कयौं बलिउड सेलिब्रेटी तथा उनका प्रंशंसहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्।

सन् १९५६ मा हरियाणास्थित महेन्द्रगढमा जन्मिएका सतिशले दिल्लीमा अध्ययन गरेका थिए भने किरोरी माल कलेजबाट स्नातक गरेपछि नेसनल स्कुल अफर्डामामा अभिनय अध्ययन गरेका थिए। सन् १९८५ मा शशी कौशिकसत्ःग विवाह गरेका उनको एक छोराको जन्म भएको थियो। तर, उनको दुई वर्षको उमेरमा निधन भएपछि सेरोगेसीको माध्यमबाट छोरी वंशिकाको जन्मिएकी थिइन्। जो हाल १० वर्षकी छन्। १९८३ मा फिल्म मासुमबाट बलिउडमा डेब्यु गरेका उनी अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्मातासमेत थिए।

१९८७ मा फिल्म मिस्टर इन्डियाबाट चर्चामा आएका उनले साजन चले ससुराल, दिवाना मस्ताना, मिस्टर एन्ड मिसेस खिलाडी, आन्टी नम्बर वन, बडे मियाँ छोटे मियाँ, जाने भी दो यारो, उत्सव, सागर, राम लखन, स्वर्ग, जमाइ राजा, अन्दाज, हम किसी से कम नहीँ, अतिथि तुम कब जाओगे, उडता पञ्जाब, फन्ने खान आ अब लौट चलें, हसिना मान जायेगी, दुल्हन हम ले जायेंगे, हद कर दी आपने, क्युंकी मैं झुट नही बोलतालगायत करिब एक सय फिल्ममा अभिनय गरेका थिए।

सन् १९९३ मा आएको फिल्म रूपकी रानी चोंरोका राजामाफर्त फिल्म निर्देशन गरेका उनले करिब तेरे नामु लगायत एक दर्जन फिल्म निर्देशन गरेका थिए भने सन् १९९० मा राम लखन तथा १९९७ मा साजन चले ससुरालमार्फत फिल्म फेयर अवार्डमा सर्वश्रेष्ठ हास्य कलाकारको अवार्ड चुमेका थिए।

प्रतिक्रिया दिनुहोस्