छ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ

0
Shares

म्याग्दी।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले छ सय एम्पुल लागूऔषधसहित दुई जनालाई हिँजो (बुधवार) पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागूऔषध डाईजोपाम २ सय एम्पुल, फेनेरागन २ सय १ एम्पुल र नुर्पिmन २ एम्पुलसहित दुईजना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ पर्नेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला घर भई हाल पर्वतको जलजला–३, बौरमा बस्ने २८ वर्षीया सोबिता बाग्दास र म्याग्दीको बेनी नगरपालिका–९, घतान घर भई हाल पर्वत जलजला–३, बौरमै बस्ने ३२ वर्षीय प्रेम सार्की रहेको प्रहरी नायव उपरीक्षक मदन कुँबरले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उनीहरु दुवै जनालाई म्याग्दीको कालीपुल बसपार्क क्षेत्रबाट पक्राउ गरिएको थियो । बसपार्क क्षेत्रमा हिँडिरहेको अवस्थामा शङ्का लागेर प्रहरीले सोधपुछ तथा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुँबरले बताउनुभयो । २०७६ सालपछि म्याग्दीमा सबैभन्दा ठूलो परिमाणमा बुधवार लागूऔषधसहित यसमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसअघि गएको फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३, मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३, घर भएका १९ वर्षीय मुस्ताफा खानलाई ३ सय ९३ ट्याबलेट नाईट्राभेट लागूऔषधसहित पक्राउ गरिएको थियो ।

त्यस्तै फागुन १६ गते बेनी नगरपालिका–८, कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा पश्चिम बंगाल घर भई हाल पोखरा बसोबास गर्दै आएका २८ वर्षीय अलेमुन हकलाई ६.५ ग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुँबरले जानकारी दिनुभयो ।

म्याग्दीमा बिक्री वितरण गर्नका लागि छिमेकी मुलुक भारत र नेपालको तराई क्षेत्रबाट लागूऔषध ल्याउने गरिएको भेटिएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ११ जना, ०७७/७८ मा ७ जना, ०७८/७९ मा ४ जना र चालु आवमा हालसम्म दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीको तथ्याङ्क छ ।

यसैगरी म्याग्दी प्रहरीले पछिल्लो एक महिनाको अवधिमा जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरी दोषी ठहर भई फरार रहेका २२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागेको २५ वर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार तीनसय ७५ हजार रुपैयाँ जरिवाना पनि असुलउपर गराइएको छ ।