प्रेस चौतारीले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस



काठमाडौँ। 

प्रेस चौतारी नेपालले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।
प्रेस चौतारी केन्द्रीय समितिले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाएको हो। उपाध्यक्ष देवीका घर्ती मगरको अध्यक्षता तथा अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

त्यस अवसरमा बोल्दै चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महिलाको विकास र समानताका लागि चौतारीले पहलकदमी लिँदै आएको बताए। महिलाको समान सहभागिता तथा अवसरका लागि सहकार्यको महत्त्वपूर्ण भूमिका हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले सबै मिलेर मात्रै समतामूलक समाज निर्माण हुने बताए। सम्पत्तिमा महिलाको अधिकार स्थापित नहुँदासम्म महिलाहरूको कन्फिडेन्स वृद्धि हुन नसक्ने अध्यक्ष बस्नेतको भनाइ  थियो।

त्यसैगरी चौतारीका सल्लाहकार तथा नेकपा एमाले प्रचार विभागका सदस्य निर्मला शर्माले सन् १९११ देखि अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको श्रमिक महिला दिवस ११३ औँ वर्ष भइरहँदा अझैपनि नेपाली महिलाको अवस्थामा उल्लेख्य विकास हुन नसकेको बताइन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको लामो समय भइसक्दा पनि अहिले पनि महिलाहरू निर्णायक तहमा पुग्न नसकेको अवस्था रहेको शर्माको भनाई थियो। पत्रकार महिलाको अवस्थामा विगतमा भन्दा अहिले धेरै सुधार भएपनि अझैपनि पारिश्रमिकमा विभेद, समयमा पारिश्रमिक उपलब्ध नहुँदा र अवसरको समान बाँडफाँड हुन नसकेको शर्माले बताइन्।

ऐन, कानुनको अवस्थालाई हेर्दा नेपालमा महिलाका लागि प्रशस्तै ऐन, कानुन बनेपनि त्यसको कार्यान्वय तथा महिलाको वास्तविक अवस्थामा भने अझैपनि सुधार हुन नसकेको उनको भनाई थियो।

त्यसैगरी चौतारीका उपाध्यक्ष देवीका घर्ती मगरले पत्रकार महिलाले पेशामा निरन्तरताको विषय लामो समयदेखि उठ्दै आएपनि अझैपनि अवस्था उस्तै रहेको बताइन्। अझैपनि जागिरबाट निकालिने र समान पारिश्रमिक नपाउने अवस्थाबाट पत्रकार महिला गुज्रिरहेको उनको भनाई थियो।

त्यसैगरी सञ्चारीका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाको समान अवसरका लागि अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। त्यस्तै पत्रकार कालिका खड्काले पत्रकार महिलाको समान क्षमता अभिवृद्धि र अवसरका लागि संगठनहरूले पनि जोड दिनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्