गौतमबुद्ध मुटु अस्पतालद्वारा निःशुल्क बिरामी ल्याउन बस सेवा सञ्चालन

0
Shares

बुटवल । 

लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले नि:शुल्क बस सञ्चालन गर्ने भएको छ । दुईवर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्राम सम्म दैनिक नि:शुल्क बस सेवा सञ्चालन गर्दै आएको अस्पतालले बिहीबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म नि:शुल्क बस सञ्चालन गर्ने भएको हो ।

नियमित रुपमा मिर्गौलाको डायलाईसिस गर्न आउने कतिपय बिरामीहरू लकडाउनको कारण महँगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनुपरेको थियो भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए ।

हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका बिरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले अधिकांश बिरामीहरू हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले बिहीबार र सोमबार हप्ताको दुईदिन कोईली बनगाईसम्म बस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

बिहीबार र सोमबार बिहान नौ बजे बनगाईबाट छुट्ने भएकोले नौ बजेभित्र सडकमा आईपुग्न अस्पतालले विरामीहरुलाई आग्रह गरेको छ । हाल फरकफरक दिनमा डायलाईसिस गराउँदै आएका सो क्षेत्रका बिरामीहरूको समय बिहीबार र सोमबार मिलाएर भएपनि सेवा दिन लागिएको अध्यक्ष आलमले जानकारी दिए । डायलाईसिसको लागि बिहान अस्पताल ल्याएका बिरामीहरुलाई डायलाइसिस गरी सकेपछि साँझ ४ बजे बनगाई सम्म नै छोड्ने अस्पतालले जनाएका छन् ।
कपिलवस्तु सम्म बस सेवा सञ्चालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुर समेतका सबै बिरामीलाई राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना बिरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।