अर्काको नाममा ट्रायल दिने र दिन लगाउने २ जना प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ।

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बलरा नगरपालिका ६ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रवि कुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताउनुभयो । अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उहाँले बताउनुभयो ।