कोसी नामाकरणविरुद्ध लिम्चुङबुङ गाउँपालिकाको कामकारबाही ठप्प

0
Shares

काठमाडौं । प्रदेश–१ को नामाकरणविरुद्ध उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कामकारबाही ठप्प पारिएको छ ।

पालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा ठप्प पारिएको संयुक्त संघर्ष समितिका संयोजक भीम किरातीले जानकारी दिए ।

प्रदेशबासीको भावनाविपरीत राजनीतिक दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै उक्त पालिकाको कारबारबाही ठप्प पारिएको संयोजक किराँतीले बताए । उनका अनुसार, ‘कोसी प्रदेशको नाम खारेजीको मागसहित आज (बिहीबार) सो पालिका बन्द गरिएको हो ।’

पालिकाको स्वास्थ्य सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ । बन्दको प्रभावका कारण सेवाग्राही मारमा परेका छन् । त्यस्तै सवारी आवागमनलाई पनि ठप्प पारिएकोले यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ ।

संयुक्त संघर्ष समितिका सदस्य माया राईले बहुसंख्यक जनताको माग र भावनानाविपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द गरिएको बताए । प्रदेश–१ को नाम पहिचानको आधारमा हुनुपर्ने, प्रदेशका बहुसंख्यक जातजातिको भाषा, संस्कार, संस्कृतिलाई समेट्नुको साटो पहिचानविपरीत नदीको नामबाट कोसी नामाकण गरिएको भन्दै बन्द गरिएको राईले बताए ।

संयुक्त संघर्ष समितिले गत शुक्रबार स्थानीय सरकारलाई प्रेसज्ञाप्ती बुझाउँदै बिहीबार बन्द गरेको छ । गत माघ १७ गते प्रदेश सभाको बैठकले कोसी प्रदेश नामाकरण गरेको थियो । प्रदेशबासीले कोसी नाम अस्वीकार गर्दै तत्काल खारेजीको माग गरेका छन् ।

संघीयताको भावना अनुरुप ऐतिहासिक सभ्यता र पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने संघर्स समितिको जोडदार माग छ ।