महिलाको नेतृत्व र महिलाकै सहभागिता

0
Shares

प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१०, राङखानी, न्वाराघाटदेखि सिर्जनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु. ३ लाख ९२ हजार ९ सय ६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुंगा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेष गरी वर्षातका समयमा साँघुरो गोरेटोमा यात्रा गर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सिर्जना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिनुभयो ।

उक्त पदमार्ग निर्माणपछि हात्तीढुंगासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रुपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिला नै थिए ।

विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय दुई–तीन जना सिपालु पुरुषले सहयोग गरे पनि पैदल मार्ग चाक्लो बनाउने, खोलामा ढुंगा फोड्ने, छपनी निकाल्ने, ढुंगा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिला नै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । ‘हामीले ढुंगा फोड्न घन पनि हान्यौँ, छिनो पनि समात्यौँ’, अध्यक्ष थापाले भन्नुभयो– ‘महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौँ ।’

यो वर्ष सिपालु पुरुष कामदारसँग सिँढी चिन्ने काम सिकेको हुँदा आगामी वर्ष अझै सहज हुने उहाँको भनाइ छ । पदमार्ग निर्माणमा ६ जना महिला कामदार खटिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमले व्यक्तिगत क्षमता विकाससँगै दैनिकी चलाउनसमेत सहयोग गरेको समितिका सचिव राधा रानाले बताउनुभयो । घरमा बसेर फेसबुक र टिकटकमा दिन काट्नुभन्दा दुई–चार पैसा हुने काम गाउँमै पाउँदा खुशी लागेको रानाको भनाइ छ ।

‘बर्खामा मौसमी काम पाइन्छ, हिउँदमा कठिन थियो’, रानाले भन्नुभयो– ‘रोजगार कार्यक्रम आएपछि घरव्यवहार चलाउन सजिलो भएको छ ।’ उक्त समूहका सदस्य प्रधानमन्त्री रोजागार कार्यक्रम सञ्चालन भएदेखि निरन्तर कामदारको रुपमा खटिँदै आएका छन् । जैमिनी नगरपालिकाले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये ६ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताउनुभयो । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाइ छ । उनीहरुले दैनिक ६ सय ५६ रुपियाँ पारिश्रमिक पाएका छन् ।

यसरी महिलाको नेतृत्व र महिलाकै सहभागितामा पदमार्ग निर्माण भएको यो राम्रो उदाहरण भएको छ । महिलाले पनि विकास निर्माणका कम सहजै गर्न सक्दा रहेछन् भन्ने यसले देखाएको छ । सधैँ महिलाले घरभित्रको चुलोचौकोभन्दा बाहिरको काम केही गर्न सक्दैनन् भन्नेहरुका लागि यो गतिलो प्रहार पनि हो । यो कार्यले अन्य स्थानका महिलाहरुका लागि पनि पाठ सिकाएको छ ।
– कमला भट्टराई ।