राष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

0
Shares

काठमाडौं । मुलुक गणतान्त्रिक राज्यव्यवस्थामा प्रवेश गरेपछि चौथोपटक राष्ट्रपति पदका लागि मतदान हुन लागेको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रपति निर्वाचनका लागि राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि दुई वटा छुट्टा–छुट्टै मतदान केन्द्र निर्माण गरिएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुली खटिनुहुनेछ। राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुनेछ ।

अबको राष्ट्रपतिको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुनेछ। सत्तागठबन्धनलाई सुविधाजनक बहुमत रहेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल आठ दलका साझा उम्मेदवार हुनुहुन्छ। पौडेललाई उहाँ आबद्ध रहेको नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेपालको समर्थन रहेको छ । नेम्बाङलाई उहाँको पार्टी नेकपा (एमाले)को मात्र समर्थन रहेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार साँझ ६ बजेसम्ममा मतपरिणाम आइसक्ने छ। राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र यही चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ। उपराष्ट्रपतिको निर्वाचन पनि राष्ट्रपति निर्वाचनकै प्रक्रियाअनुसार हुनेछ ।

मुलुकको दोस्रो र तेस्रो गरी दुई कार्यकाल राष्ट्रपति हुनुभएका विद्यादेवी भण्डारीको पछिल्लो कार्यकाल यही फाल्गुन २८ गते सकिन लागेकोले नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागिएको हो।

विसं २०६५ श्रावण ६ गते भएको पहिलो राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. रामवरण यादव निर्वाचित हुनुभएको थियो। त्यस्तै, संविधान निर्माण भएको एक महिनापछि वि सं २०७२ कार्तिक ११ मा व्यवस्थापिका–संसद्बाट भण्डारी पहिलोपटक र २०७४ फाल्गुण २९ भएको निर्वाचनबाट दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।