आज राष्ट्रपति पदको निर्वाचन : तेस्रो राष्ट्रपतिको चौथो कार्यकालका लागि पौडेल-नेम्बाङ आमनेसामने

0
Shares

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा आज फागुन २५ गते निर्वाचन हुँदैछ । आगामी पाँच वर्षका लागि हुने राष्ट्रपति निर्वाचनमा दुई विशिष्ट व्यक्तिहरू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।

गत फागुन १३ गते उम्मेदवारी दर्ता गराएसँगै पार्टीगत, व्यक्तिगत र सामूहिक रूपमा निरन्तर मतदातामाझ पुगेर आ–आफ्नै जीतको दाबी गर्दै आएका उम्मेदवारहरू मौन अवधि शुरू भएसँगै मौन छन् । यद्यपि, आन्तरिक तयारीमा भने निरन्तर लागिरहेको दुवै उम्मेदवारको सचिवालयले जनाएको छ ।

यसैबीच राष्ट्रपति पदको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो । मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । बानेश्वरस्थित संसद् भवन परिसरमा संघीय संसद्का लागि एउटा र प्रदेशसभा सदस्यहरूलाई अर्को मतदान केन्द्र बनाइएको छ । निर्वाचन अधिकृत शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल लैजान निषेध गरिएकाले कसैले मोबाइल लगे निर्वाचन आचारसंहिता उल्लंघनको कसुर लाग्ने आयोगले जनाएको छ । मतदान सकिनासाथ बिहीबार साँझ नै मत गणना गर्ने र परिणामसमेत साँझ ७ बजेसम्म सार्वजनिक गरिने कार्यतालिका रहेको निर्वाचन अधिकृत शर्माको भनाइ छ ।

राष्ट्रपतिका लागि कांग्रेस नेता पौडेललाई कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धन दलहरूले साझा उम्मेदवार बनाएका छन् । उहाँको पक्षमा २ दल थपिएर १० दलको समर्थन रहेको गठबन्धनका नेताहरूले दाबी गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार नेम्बाङलाई आधिकारिक रूपमा एमालेको मात्रै समर्थन छ । गत पुस १० गते बनेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सात दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा खटपट हुँदा उक्त गठबन्धन टुटेर कांग्रेससहितको नयाँ समीकरण बनेको छ । जसले गर्दा निर्वाचनको मुखैमा एमाले एक्लो बनेको छ ।

माओवादी–एमालेसहितको सात दलीय गठबन्धनमा सँगै रहेको राप्रपा र रास्वपाले कसलाई समर्थन गर्ने भन्ने आधिकारिक निर्णय गर्न पाएनन् । अन्तिम समयमा निर्णय गर्ने भन्दै पर्ख र हेरको अवस्थामा रहेका रास्वापा–राप्रपाले मौन अवधिको आचारसंहिता आकर्षित हुने भएपछि कसलाई सहयोग गर्ने भन्ने आधिकारिक निर्णय गर्न पाएनन् । यद्यपि, राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बैठक बसेर आवश्यक निर्णय लिने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । आचारसंहिता लागिसकेकाले कसलाई समर्थन गर्ने भन्ने औपचारिक निर्णय गर्न नमिले पनि अनौपचारिक छलफल गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ ।’ राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणालगायतको ठूलो पंक्ति राष्ट्रपति निर्वाचनमा भाग नलिने पक्षमा थिए । निर्वाचनको अन्तिम घडीसम्म पौडेको पक्षमा १० दल जुट्दा नेम्बाङका पक्षमा एमाले मात्रै देखिएको छ ।

यो निर्वाचनमा राष्ट्रियसभा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले मतदान गर्नेछन् । तीमध्ये प्रतिनिधिसभातर्फ कांग्रेसका टेकबहादुर गुरुङ र रास्वपाका रवि लामिछानेको सांसद पद गएको छ भने जसपाका सांसद सहनाज रहमानको निधन भएपछि ३ मतको २३७ मतभार घटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदात नामावलीअनुसार हाल राष्ट्रियसभा सदस्य ५९, प्रतिनिधिसभा सदस्य २ सय ७२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी जम्मा मतदाता ८ सय ८१ रहेका छन् । प्रतिनिधि तथा राष्ट्रियसभाको ७९ र प्रदेशसभाको ४८ प्रति सदस्य मतभार रहने छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाअन्र्तगत २६ हजार १ सय ४९ र प्रदेशसभाअन्र्तगत २६ हजार ४ सय गरी जम्मा ५२ हजार ५ सय ४९ मत रहेको छ । सबै मत खस्यो भने राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि उम्मेदवारलाई २६ हजार २ सय ७५ मत आवश्यक पर्दछ ।

नाम : रामचन्द्र पौडेल
पार्टी : नेपाली कांग्रेस
ठेगाना : तनहुँ, (हाल बोहोराटार, काठमाडौं)
जन्ममिति : २०००/०६/२९
जन्मस्थान : व्यास नगरपालिका, तनहुँ
बाबु : दुर्गाप्रसाद पौडेल
आमा : ऋषिमाया पौडेल
पारिवारिक विवरण : श्रीमती सविता पौडेल /एक छोरा, ४ छोरी
शिक्षा : संस्कृतमा शास्त्री, नेपालीमा स्नातकोत्तर
राजनीतिक संघर्ष : १६ वर्षमा राजनीति प्रवेश ।

कांग्रेसले सञ्चालन गरेको २०१८ सालको सशस्त्र क्रान्तिमा सहभागी । २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता । २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्र्थी युनियन सभापति । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव । २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य । २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक । २०४४ सालमा केन्द्रीय सदस्य । २०६२ सालमा कांग्रेस महामन्त्री । २०६४ सालमा कांग्रेसको उपसभापति र २०६५ मा कांग्रेस संसदीय दलको नेता । पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सालसम्म विभिन्न पटक गरी १३ वर्ष जेल जीवन ।

लाभको पद : २०४८ सालको निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भएर स्थानीय विकासमन्त्री । २०४९ सालमा स्थानीय विकास तथा कृषिमन्त्री । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भएपछि प्रतिनिधिसभाको सभामुख । २०५६ सालमा तनहुँ २ बाट संसद् सदस्यमा तेस्रोपटक निर्वाचित । २०५७सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री । २०६३ सालमा शान्ति तथा पुनःनिर्माण मन्त्री । २०६४ मा तनहुँ २ बाट संविधानसभा सदस्य । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित । २०७९ सालमा तनहुँ–१ बाट निर्वाचित ।

नाम : सुवाचन्द्र नेम्बाङ
पार्टी : नेपाल कम्युनिस्ट पार्टी (एमाले)
ठेगाना : इलाम
जन्ममिति : २००९/११/२०
जन्मस्थान : इलाम बजार
बाबु : रामबहादुर नेम्बाङ
आमा : अपिन्द्रकुमारी नेम्बाङ
पारिवारिक विवरण : श्रीमती २ छोरा २ छोरी
शिक्षा : स्नातक
राजनीतिक यात्रा र घटनाक्रम : २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन, वरिष्ठ अधिवक्ता राजनीतिक आबद्धता : स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र मालेमा संगठित । एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ सालमा नेकपा स्थायी कमिटी सदस्य । हाल नेकपा (एमाले) उपाध्यक्ष । पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजर बन्द । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना कैद ।

लाभको पद : २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य । लगत्तै पुनः राष्ट्रियसभा सदस्य । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम २ बाट निर्वाचित । संविधानसभा निर्वाचन २०६४, २०७०, २०७४ र २०७९ मा इलाम २ बाट निर्वाचित । २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सभामुख । २०६४ सालमा व्यवस्थापिका संसद् सभामुख । २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र सभामुख । २०७२ सालमा रूपान्तरित व्यवस्थापिका सभामुख । २०७२ सालमा न्याय कानुन तथा संसदीय राज्यमन्त्री । पछि न्याय, कानुन तथा संसदीय मन्त्री, सामान्य प्रशासन मन्त्री, स्थानीय विकासमन्त्री ।