नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

0
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा झण्डै ६० करोड रुपियाँ आम्दानी गरेको छ । उक्त रकम संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट वापतको हो ।

नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले संग्रहालय खुलेको १४ वर्षमा सबैभन्दा बढी सर्वसाधारणको टिकट वापत आम्दानी संकलन भएको जनाएको छ । १४ वर्षको अवधिमा २१ लाख ३७ हजार ९ सय ५१ सर्वसाधारणले संग्रहालय अवलोकन गरेका छन् ।
समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले १४ वर्ष अवधिमा नारायणहिटी संग्रहालयसँगै श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने भएपछि अवलोकन कर्ताको संख्या ह्वात्तै बढेको बताउनुभयो । उक्त अवधिमा १५ लाख ७६ हजार ८ सय ५९ विद्यार्थीले संग्रहालय र गणतन्त्र स्मारक अवलोकन गरेको बताइएको छ । विद्यार्थीको टिकट बिक्री वापत ७ करोड ८८ लाख ४२ हजार रुपियाँ संकलन भएको समितिले जनाएको छ ।

त्यसै गरी चीन र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मुलुकबाट २ लाख ४० हजार १ सय ३ जनाले संग्रहालय अवलोकन गरेका छन् । चीन र दक्षिण एसियाली मुलुकको पर्यटकलाई टिकट बिक्री गरेवापत १२ करोड ५१ लाख ५ सय रुपियाँ संकलन भएको बताइएको छ । त्यस्तै, चीन र सार्क मुलुक बाहेकका अन्य मुलुकबाट ८८ हजार ५ सय ९७ जना पर्यटकले संग्रहालय अवलोकन गरेका छन् ।

संग्रहालय अवलोकन गर्न आउने विद्यार्थीलाई टिकट बापत ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई ५–५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने गरिएको छ । संग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

सूचना अधिकारी थापाले कोभिड संक्रमणको कारण दुई वर्ष संग्रहालयमा अवलोकन गर्नेको संख्या न्यून रहेकोमा पछिल्लो २ वर्षदेखि पर्यटकको ओइरो लाग्न थालेको बताउनुभयो । ई–टिकेटिङ सुरुआत गरेपछि पर्यटकलाई सहज भएको छ भने टिकटबापतको रकम सीधै संग्रहालयको खातामा जाने गरेको छ ।

आर्थिक वर्ष २०६५ देखि २०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले संग्रहालय अवलोकन गरेका थिए । विगत ३ वर्षमा संग्रहालय, श्रीसदन र गणतन्त्र स्मारक अवलोकन गर्नेको संख्या वार्षिक रूपमा झण्डै १० लाखले बढेको छ । विगत ३ वर्षमा करिब ४५ लाखले संग्रहालयको अवलोकन गरिसकेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालय घोषणा गर्नुभएको थियो । त्यसको ८ महिनापछि फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी संग्रहालयको औपचारिक उद्घाटन गर्नुभएपछि उक्त संग्रहालय सर्वसाधारणको लागि खुला गरिएको थियो ।

७ सय ५४ रोपनी क्षेत्रफल रहेको नारायणहिटी परिसरमा संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ । संग्रहालयमा स्वर्गीय राजा वीरेन्द्रको शुभ–राज्यभिषेकमा प्रयोग गरिएको सुनौलो बग्गी प्रदर्शनीमा राखिएको छ ।

संग्रहालयमा राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारी साधन पनि राखिएको छ । संग्रहालयभित्र ३१ वटा कक्षको खोलिएको छ । अवलोकनको लागि खुला गर्न बाँकी विभिन्न सदनको ऐतिहासिक पक्षको बारेमा अध्ययन शुरू भइरहेको संग्रहालय प्रशासनले जनाएको छ ।