हत्या आरोपी चार जना पक्राउ

0
Shares

सल्यान ।

हत्या गरेको आरोपमा चार जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा जय विश्वकर्मा ग्रिल उद्योग संचालन गरेर बस्दै आएका २४ वर्षीय दिनेश विकको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

मृतकका बाबु मेरमान कामीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले त्रिवेणी गाउँपालिका ६ लुहाम बस्ने ४० वर्षीय अमरबहादुर घर्ती, ३० वर्षीय टीकाराम केसी, ३४ वर्षीय बुद्धिराम सिरिस र कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ७ घर भई हाल त्रिवेणी गाउँपालिका ६ लुहाम बजार बस्दै आएका ३० वर्षीय सुरेश जैसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

आरोपित चारै जनालाई बजार आसपासबाटै पक्राउ गरिएको उहाँले बताउनु भयो  । उहाँका  अनुसार पक्राउमा परेका चार जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।

लुहाम बजारमा ग्रिल उद्योग संचालन गरेर बस्दै आएका विक दुई दिनअघि त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै खोलाको किनारमा मृत अवस्थामा भेटिएका थिए ।

विकको मृत्यु शंकास्पद देखिएको भन्दै उनका बाबु मेरमान कामीले प्रहरीमा किटानी जोहरी दिएका थिए ।