फागुन २७ मा एमाले निकट युवाहरुको जिल्ला अधिवेशन 

0
Shares

काभ्रे।

राष्ट्रिय युवा संघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशन फागुन २७ गते पर्यटकीय नगरी धुलिखेलमा आयोजना हुने भएको छ । अधिवेशनको उद्घाटन पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्ने राष्ट्रिय युवा संघ काभ्रेले जानकारी गराएको छ ।

अधिवेशनका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला संयोजक सागर रायमाझीले अधिवेशनको सम्पूर्ण तयारी सकिएको बताउनु भयो । अधिवेशनका लागि विभिन्न उप समितिहरु गठन गरी कार्य गरिरहेकाले सबै उप समितिहरुको तयारी सकिएको संयोजक रायमाझीले बताउनु भयो ।

युवाहरु विदेश पलायन रोक्न श्रम र सिपसँग जोडिने गरी कार्यक्रम तय गरी जिल्लामा रहेका १३ वटै पालिका र १ सय ३५ वटै वडामा परिचालन गरिने गरी अधिवेशनले विशेष योजना तय गर्ने संयोजक रायमाझीले बताउनु भयो । ‘अधिवेशनका लागि १३ वटा पालिका, वडा, क्षेत्र र निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी तथा मनोनीत समेत गरी ४ सय ५५ जना प्रतिनिधिहरु सहभागी हुनेछन’– संयोजक रायमाझीले भन्नुभयो–‘अधिवेशनका लागि हुने खर्च स्वयंम प्रतिनिधि र शुभचिन्तकहरूबाट व्यवस्थापन हुनेछ ।’ अधिवेशनले अध्यक्ष सहित ७५ सदस्यीय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रिय युवा सङ्घले धुलिखेल नगर भित्र मोटर साइकल र्‍याली गर्नेछ । अधिवेशनको खुल्ला सत्रमा पार्टी कटिमका जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष अमित लामा सहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

पत्रकार सम्मेलनमा प्रचार प्रसार विभाग प्रमुख सिवी लामाले जिल्लामा हुने लागेको अधिवेशनको प्रचार प्रसार तथा तयारी सकिएको बताउँदै युवाहरूको सिपलाई योजना र समृद्धि तर्फ उन्मुख गराउने अभियानमा युवासंघ क्रियाशील भएको बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज राकेश लामा, जिल्ला कमिटी सदस्य एवं जिल्ला इन्चार्ज होमप्रसाद चौलागाई लगायतले युवा संघको जिल्ला अधिवेशनका सन्दर्भमा धारणा राख्नु भएको थियो । केन्द्रीय अधिवेशने चैत्र २७ गते आयोजना गरिएको छ ।