नेपालसँग कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न कोरिया तयार रहेको लि साङको भनाई

0
Shares

बुटवल । 

कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदीय समितिका अध्यक्ष लि साङ हनले कोरिया सरकार नेपाल सँग सधैँ सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । उहाँले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै कोरियाले नेपाललाई कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

मङ्गलवार तिलोत्तमा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै हनले नेपालबाट बर्षेनी हजारौँको सङ्ख्यामा नेपालीहरू कोरिया गएर नेपाली सिपलाई प्रदर्शन गरेको समेत बताउनु भयो ।

उहाँले तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, तिलोत्तमा नगरपालिका सँग पनि सहकार्य गर्न इच्छुक रहेको समेत सो अवसरमा बताउनु भयो । नेपाल दुई विशाल राष्ट्रको बीचमा रहेकाले धेरै सम्भावना रहेको भन्दै सम्भावनालाई पहिल्याउँदै विकास गर्न सके नेपालले आर्थिक र पुर्वधार विकासमा छिट्टै फड्को मार्ने उहाँको भनाई छ ।
कोरिया देश पनि धेरै मेहनतले अहिले विश्वमा उत्कृष्ट भएको उल्लेख गर्दै नेपालको विकासका लागि आम नागरिक पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने उहाँको कथन छ ।

होली मिलन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले कोरियाले तिलोत्तमा नगरपालिका भित्र सहकार्य गर्न तयार रहे आफूहरूको साथ रहने बताउनु भयो । उहाँले अहिले मौसमी कामदार कोरियामा गइरहेको भन्दै नेपालबाट गएका नेपालीहरू तोकेको काम र समयमा भन्दा बढी कोरियामा बस्दा केही समस्या उत्पन्न भएको समेत बताउनु भयो ।

संघका अध्यक्ष गुणानिधी तिवारी (माधव)ले होली नेपालीहरूको मौलिक पर्व रहेकोले यसलाई जर्गेन गर्ने उद्देश्यले नै होली मिलन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । कार्यक्रममा संघका सल्लाहकार पशुपति घिमिरेले रङ्गको पर्व होलीले सबै नेपालीमा उमंग छर्ने विश्वास व्यक्त गर्नु भयो ।