काभ्रे ।
बेलर इन्टरनेशनल एकेडेमी बनेपाले दोस्रो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो ।
‘शिक्षाको विकास विना समाजको चेतना स्तर वृद्धि हुन सक्दैन’–समन्वय समिति प्रमुख दीपकुमार गौतमले भन्नुभयो–‘गुणस्तरीय शिक्षामा बेलर इन्टरनेशनल एकेडेमीले थप योगदान पुर्याएको छ ।’ अध्यक्ष भोला थापाले विद्यालयले व्यवहारिक र गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी शिक्षाका लागि अतिरिक्त क्रियाकलापसँग जोडिएर विद्यार्थीहरुको प्रतिभालाई समेत प्राथमिकता दिएको बताउनु भयो ।
काभ्रेपलाञ्चोक जिल्लालाई शैक्षिक हवका रुपमा विकास गर्ने उद्देश्यले सुरु भएको बेलर एकेडेमीले नागरिकहरुलाई शिक्षासँगै जीवनोपयोगी ज्ञान प्रदान गरिरहेको अध्यक्ष थापाले बताउनु भयो । विद्यालयकी प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि बेलर एकेडेमीले काठमाडौँ विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा शिक्षा प्रदान गर्न विधि, सिप सँगै सहकार्य र समन्वय गरिरहेको बताउनु भयो ।
कार्यक्रममा अभिभावक ईश्वरी ओझा, विद्यालयका प्रबन्ध निर्देशक पवनकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बेलर एकेडेमीले जिल्लाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सक्ने गरी शिक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा गरी उत्कृष्ट कार्य गरेका शिक्षकहरु सरिता कार्मी, देवकी काफ्ले, अन्जु सेढाईलाई नगद सहित सम्मान गरिएको थियो भने अनिषा वैद्य र ईसु श्रेष्ठलाई आईएसए प्रमाणपत्र प्रदान गरिएको थियो । कर्मचारीहरू देवी प्रधान, जानुका प्रधान र विनीता प्रधानलाई पनि नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले संस्कृति कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयले पहिलो चरणमा कक्षा ५ देखि १० सम्म र दोस्रो चरणमा कक्षा १ देखि ४ सम्मको अभिभावक दिवस आयोजना गरेको हो । प्लेग्रुप तथा मन्टेश्वरी र कक्षा ११ देखि क्याम्पस तहको अभिभावक दिवस तेस्रो र चौथो चरणमा आयोजना गर्ने अध्यक्ष भोला थापाले जानकारी दिनुभयो । उक्त विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया