बाजुरा । हिमाली गाउँपालिका बामु–४ की निरुकला रोकायालाई गत वर्षसम्म स्याउ कस्ता हुन्छन् भन्ने थाहै थिएन । आफ्नै बारीमा फलेको स्याउको स्वाद चाखेसँगै उहाँले स्याउबारे थाहा पाउनुभयो । ‘अगाँत (अगाडि) हामी गाउँलेलाई स्याउ भनेको के हो थाहै थिएन । कोल्टी, धनगढी काठमाडौं गएका मान्ठा (मान्छे) लाई थाहा हुँदो हो । हामी घरको धेलो (दैलो) नछोड्नेलाई केही थाहा थिएन’ –उहाँको कथन छ । निरुकलाले अहिले आफ्नै जग्गा रानेमा १५० बोट ओखर र स्याउ हुर्काउनुभएको छ । स्याउ फल्न थाले भने ओखर पछिल्लो वर्षसम्म फल्नेमा आशावादी हुनुहुन्छ ।
हिमाली गाउँपालिका–३ कोटि गाउँका सुरलाल बोहरा पनि एक वर्षभित्र बारीमा ओखर र स्याउ फलाउने तर्खरमा हुनुहुन्छ । बोट नफल्दासम्म चामल र बोट फलेपछि रुपियाँ पाउनेमा दंग छन् । हिमाली गाउँपालिका–३ युनाकी लाली रोकाया पनि ‘बोट राप्यौं चामल पायौं, भोक ट¥यो बोट पनि हुर्के’ भन्दै खुसी व्यक्त गर्नुहुन्छ । देउसैनका जोग भण्डारीले एकातिर स्याउका बोट हुर्काएका छन् भने अर्कोतिर जडिबुटी पनि रोप्नुभएको छ । एक वर्षभित्र स्याउ ओखर र जडिबुटी बेचेर घरमै मनग्य आम्दानी गर्ने योजनामा हुनुहुन्छ भण्डारी । उहाँहरू हिमाली गाउँपालिकाको खाद्य सुरक्षा कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने प्रतिनिधि पात्र मात्र हुन् ।
सर्वाधिक विकट भनेर चिनिने बाजुराको हिमाली गाउँपालिकाले अभियानका रूपमा सञ्चालन गरेको एक बोट पाँच केजी चामल खाद्यान्न सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुख्खा खडेरीले प्रताडित साविकको रुगित, बाँधु र बिच्छ्या क्षेत्रमा एक बोट हुर्काएबापत वर्षेनी पाँच केजी चामल पाउने हिमाली गाउँपालिकाले नीतिगत व्यवस्था गरेको छ ।
२०७५ सालमा २ हजार २ सय घरपरिवारलाई ५० हजार बिरुवा किनेर वितरण गरेको र ३९ हजार बोट एक वर्षभित्र फल्ने अवस्थामा रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो । ‘जनतालाई सधैं चामल किनेर पाल्नुभन्दा फलफूलमा आत्मनिर्भर बनाउने र सुख्खा हिमालीलाई हराभरा बनाउने गुरुयोजना हो । सोहीअनुसार निरन्तर पाँच वर्षदेखि कृषि खाद्य कार्यक्रममा छौं, एक वर्षभित्र सबै वडामा मोटरबाटो पुग्छ । बोट पनि फल्छन् । फलफूल रोप्दा वातावरण पनि स्वच्छ हुन्छ । तिनै फलफूलबाट स्थानीयले आम्दानी पनि गर्नेछन्’ –अध्यक्ष मल्लले भन्नुभयो । दीर्घकालीन सोच राखेर करोडौं लगानी गरेका बताउँदै उहाँले थप्पनुभयो– यद्यपि, गाउँपालिकाको महाअभियान खाद्य सुरक्षा दीर्घकालीन कार्यक्रम सफल पार्न संघ, प्रदेशलगायत दातृ निकायको सहयोगको आवश्यकता छ ।’
हिमाली गाउँपालिकाका ६ वटै वडा क्षेत्रमा वातावरण अनुकूल बोट रोप्न लगाएका छन् । एक परिवामा पाँच जनाका हिसाबले २० बोट रोप्नुपर्छ । एक बोट रोपेबापत पालिकाले पाँच केजी चामल दिएको थियो । एक परिवारमा सरदर पाँच जनाको हिसाबले समानुपातिक वितरण प्रणालीअनुसार खाद्यान्न दिइन्छ । पहिलो वर्ष एक जनाले २० बोट रोप्नुपर्ने र बोट रोपेबापत १ क्विन्टल चामल पाइन्छ । ‘हिमाली गाउँपालिकाले सधैं बोट रोप्ने र चामल खाने प्रवृत्तिको अन्त्य गरी रोपेको बोट हुर्काउने दूरदृष्टि राख्यो । फलफूल उत्पादन र वातावरणीय स्वच्छता कायम गर्न दीर्घकालीन कृषि नीति अवलम्बन गरेको छ’ –अध्यक्ष मल्लले भन्नुभयो ।
शुरूमा फलफूलका बोट रोपेबापत पाँच केजी चामल दियौं, पछि त्यही बोट हुर्काएबापत वर्षेनी एक बोटको पाँच केजी चामल दियौं । एक परिवारले वर्षमा २० बोट हुर्काएबापत एक क्विन्टल चामल पाउँछ । वर्षमा दुईपटक अनुगमन हुने र मापदण्डअनुसार बोट हुर्केको सिफारिस आएपछि चामल उपलब्ध गराउने गरेको छ । ‘चार वर्ष पहिले ५० हजार बोट रोपेका थियौं । ३९ हजार स्याउ र ओखरका बोट फल्न थालेका छन् । अबको एक वर्षभित्र स्याउ, ओखर, अनार, कागती र सुन्तलालगायतका बोट फल्नेछन्’ –हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो । पोषणयुक्त खाद्य सुरक्षाका साथै आर्थिक आयआर्जनलाई दृष्टिगत गरी हिमाली गाउँपािलकाले वर्षेनी १ करोड ३० लाख रुपियाँ उक्त कार्यक्रममा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
खाद्य सुरक्षाका साथै उत्पादित फलफूलजन्य वस्तुको बजार व्यवस्थापनका लागि २ करोड १९ लाख रुपियाँ लागत खर्च गरी धुलाचौरमा कोल्डस्टोर निर्माण गरिँदै छ । उत्पादित वस्तु कृषकको बारीबाट हिमाली गाउँपालिकाले किन्छ । कृषकले घरमै पैसा पाउँछन् । उक्त फलफूल सिजनमा भण्डारण गरिनेछ भने बेमौसमा बिक्री गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । अहिले धुलाचौर बजारमा १२ सय प्रति केजी ओखर छ । ४ सय रुपियाँ प्रतिकेजी केजी स्याउको मूल्य छ । कम्तीमा ४० हजार बोटबाट ५ लाख किलो स्याउ र ओखर फलाउने लक्ष्य रहेको छ, एक वर्षमा कृषकले स्याउ र ओखरबाट मात्र ४० करोड रुपियाँ कमाउने योजनामा गाउँपालिका लागेको अधिकृत भण्डारीले बताउनुभयो । ‘एक परिवारले वार्षिक सरदर ५ देखि १० लाख रुपियाँ कमाउनेछन् । कृषकले आफंै कमाएर आत्मनिर्भर भएपछि गाउँपालिकाले बोट सुरक्षाबापत दिने प्रोत्साहन भत्ता काट्छ’ –प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।
हिमाली गाउँपालिकाले पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरेको यो कार्यक्रमलाई देशीविदेशी संघसंस्थाले पनि सिको गर्न थालेका छन् । पालिकाले दिएको बोट हुर्केपछि किसान आफैंले पनि थप बोट लगाउन थालेका छन् । अध्यक्ष गोविन्द मल्लले विश्व खाद्य चामल ढुवानी गर्दागर्दै अपनाएको दीर्घकालीन योजनाको हिमालीमा चौतर्फी तारिफ भइरहेको बामुका वियलाल रोकायले बताउनुभयो ।
प्रतिक्रिया