लेकसाइडमा पर्यटकको होली

0
Shares

पोखरा।

नेपालको पर्यटकीय नगरी पोखरामा नेपालीहरुसंगै विदेशी पर्यटकहरुले पनि होली मानेका छन्। पोखरामा रहेका विभिन्न देशका पर्यटकहरुले आज लेकसाइडमा होलीको रङमा निकै रमाए ।

होली नेपाली परम्पराको रङको पर्व हो। एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ ।

विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग निकै खुसी हुँदै विदेशी पर्यटक पनि नेपालीसरह नै रङमा रमाएर होलि खेले ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए ।

होलीको रङसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताए । “निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उनले भने ।

“यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनप¥यो”, उनले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिए । उनीसँग रहेका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए ।

अन्नपूर्ण बेसक्याम्पमा जान आएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाए । आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उनी सोही रङसँग निकै रमाए । आफूले पनि रङ दले अरुलाई पनि लगाइदिए ।

त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताइन् ।

त्यस्तै इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आएकी होल्यान्डकी एल्काले पनि रङ्गीविरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिइन् । उनले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताइन् ।

उनले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गरिन । रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताए ।

“कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो”, पौडेलले भने ।

उनले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताए ।

पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ¥याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको बताए।