रुपन्देहीमा पेट्रोल पम्पको अनुगमन: मापदण्डविपरीतको पम्पमा सिल

0
Shares

बुटवल । 

जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित ५ वटा पम्पहरुमा आइतबार समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँ गाउँको लम्साल आयल सप्लायर्समा सिल गरिएको छ ।

उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी विक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५ एमएलसम्म बढी विक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिनु भयो ।

‘कसैले पनि घाटा खाएर तेल विक्री गर्दैन । तर लम्साल आयलले उपभोक्तालाई बढी मात्रामा तेल विक्री गरेको पाइयो । अनुगमन समिति आएको थाहा पाएपछि मेसिन मिलाउने क्रममा यस्तो गरेको हुनसक्छ’, उहाँले भन्नु भयो, ‘यही कारण अनुसन्धानका लागि हामीले पम्प सिल गरेका हौँ ।’

उहाँका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ । ‘यदि कसैले नियत बस पेट्रोलियम पदार्थ विक्री गर्दा घटी बढी गरेर विक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि  ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ’, उहाँले भन्न भयो‘लम्साल आयलको नियत के हो ? हामीले अनुसन्धान गर्छौँ र आवश्यक कारबाही हुन्छ ।’

जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिनु भयो ।  ३ दिनभित्र संचालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय, बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको छ । ‘पम्प सिल गरेर अनुसन्धान सुरु गरिएको छ, नियमतबस संचालकले तेल घटी बढी गरेको पाइए कारबाही हुन्छ’, उहाँको कथन छ ।

अनुगमन समितिले बुटवलको लम्साल आलयसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो । ‘समितिले नियमित अनुगमन गर्दै आएको छ, तर पम्पहरुका बारे उपभोक्ताबाट कम मात्रामा तेल विक्री गरेको गुनासो पनि आएपछि हामीले अनुगमनलाई तिव्रता दिएका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘अब सबै पम्पहरुको अनुगमन हुन्छ, गलत भेटिए कारबाहीको दायरामा ल्याउँछौँ ।

अनुगमनका क्रममा समितिले पम्पहरुले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्था लगायत जाँच गरेको थियो । अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नापतौलका प्राविधिक लगायतको सहभागिता थियो ।