लुम्बिनीमा सकियो निजामती कर्मचारी संगठनको बैठक

निर्वाचन प्रणाली सुधार गर्न माग

0
Shares

बुटवल ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको तेस्रो केन्द्रीय समितिको बैठक लुम्बिनीमा सकिएको छ । बैठकले निर्वाचन प्रणालीमा सुधार गर्न माग गरेको छ । संगठनको लुम्बिनीमा भएको तेस्रो केन्द्रीय समितिको दुई दिने बैठकपछि जारी २२ बुँदे घोषणापत्रमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रणालीमा भएको त्रुटिका कारण देश अस्थिरतामा फसेकाले निर्वाचन प्रणाली सुधार गर्न गम्भीर बन्न सङ्घीय तथा प्रदेश सभा,राजनीतिक दल र नागरिक समाजसंग माग गरेको हो ।

घोषणापत्र जानकारी गराउन शनिवार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले संविधानको धारा ८४ र १७६ मा व्यवस्था गरिएको निर्वाचन प्रणालीको त्रुटिका कारण कुनै दलको स्पष्ट बहुमत नआउँदा सरकारहरु बारम्बार परिवर्तन हुँदा राष्ट्रको शासकीय प्रणाली अस्थिर हुने र सरकारले लिएका बजेट खर्च लगायत लक्ष्यहरु पूरा नहुने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

सङ्गठनले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको कारण नेपालको व्यापार, रोजगारी, पर्यटन, विनिमय, वैदेशिक मुद्राको संचिती लगायतका क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न अर्थविज्ञ र सरोकारवालाको सहभागितामा विशेष सम्मेलनबाट तत्काल सुधारको नीति लिन माग गरेको छ ।
अर्थतन्त्रको खस्कँदो अवस्थामा भरथेग गर्न, आयातलाई प्रतिस्थापन गर्न, कृषिमा आत्मनिर्भर बन्न बाँझो जग्गामा सामूहिक खेतीका लागि स्थानीयस्तरमा रहेको विभिन्न पार्टीका युवा संगठन, शिक्षक, कर्मचारी, प्रहरी, नेपाली सेना अन्य संघ संस्था लगायतलाई स्वेच्छिक सेवामा प्रयोग गरी उपयोगमा ल्याउने नीति बनाउन सङ्गठनले माग गरेको छ ।

संगठनका अध्यक्ष कोइरालाले काममा ढिलासुस्ती र भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिन संगठनमा आबद्ध ५० हजार सदस्यलाई प्रशिक्षण दिने अभियान जारी रहेको बताउनु भयो ।

साथै साना, मझौला किसान र स्वदेशी संस्था, समूहबाट उत्पादित कृषि उपजको बजार व्यवस्थापनको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
तलब सुविधा आयोगलाई सङ्गठनले बुझाएका सुझाव अनुसार आधारभूत तहका कर्मचारीहरूको न्यूनतम तलबमान ४० हजार कायम हुने गरी  छिट्टै प्रतिवेदन बुझाउन र उक्त प्रतिवेदन आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्यबाट कार्यान्वयनमा ल्याउन सङ्गठनले माग गरेको छ ।

सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा सङ्घीय सरकार र प्रदेश सरकार बिच द्वन्द्व बढ्ने, समायोजन भएका कर्मचारीको सेवा सुविधामा समेत अन्यौलता बढेको हुँदा सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न र सोही अनुरुप प्रदेश र स्थानीय सेवा ऐनमा संशोधन गर्न संगठन सम्बन्धित सरकारसँग सङ्गठनले माग गरेको छ । कर्मचारी तथा ट्रेड युनियनमैत्री तीनै तहका ऐन यथाशीघ्र जारी गर्न पनि सङ्गठनले माग गरेको छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गन शीघ्र सेवा तीव्र विकासको लागि सरकारले यसलाई अभियानको रुपमा अगाडी बढाउन सङ्गठनले माग गरेको छ । सेवाग्राहीलाई अनिवार्य रुपमा मुस्कान सहितको सेवा प्रवाहको प्रत्याभूति गर्दै शिष्टाचारको रुपमा आफैबाट नमस्कार गर्ने अभियानलाई सङ्गठनले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ अध्यक्ष कोइरालाले जानकारी गराए ।

पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि, कृत्रिम अभाव, भ्रष्टाचार, अनियमितता, खाद्यान्न अभाव, प्राकृतिक श्रोत साधनको अति दोहन, शान्ति सुरक्षाको खंस्कदो स्थिति, वातावरणीय विनाश, खानेपानीको अभाव जस्ता जनसरोकारका विषय तथा स्थानीय समस्या समाधानमा सङ्गठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकार परिवर्तनसँग हुने सरुवा आतंक तत्काल रोक्न र सरुवालाई सजाय मान्ने सोचलाई परिवर्तन गरी अवसरको रुपमा विकास गर्न तीनै तहमा कार्यरत कर्मचारीको सरुवालाई वैज्ञानिक, चक्रीय, पारदर्शी र पूर्वानुमानयोग्य हुने गरी व्यवस्थापन गर्न सङ्गठनले माग गरेको छ ।

आर्थिक रुपमा सक्रिय जनसंख्या देशबाट बाहिरिने क्रमलाई रोक्न स्वदेशमा रोजगारी श्रृजना गर्ने दीर्घकालीन रणनीति तयार गर्न, अस्थायी, करार सेवामा कार्यरत कर्मचारीहरुलाई सेवा सुरक्षाको कुनै सुनिश्चितता नगरी अपमानजनक तवरले सेवाबाट हटाउने र पुन: आफ्ना कार्यकर्तालाई करारमा कामकाजमा लगाउने कार्य रोकी कार्यसम्पादनका आधारमा साबिककै करार कर्मचारीलाई निरन्तरता दिन सङ्गठनले माग गरेको छ ।

करारमा कार्यरत कमचारीहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता गराउन, एक पटकका लागी स्वीकृत दरबन्दीमा सीमित प्रतियोगिताबाट करारका कर्मचारीहरुलाई स्थायी गर्न सङ्गठनले माग गरेको छ ।

संगठन सुदृढिकरणका लागी मिसन पालिका अभियान जारी राख्ने र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तत्काल मिति तोक्न सङ्गठनले माग गरेको संगठनका महासचिव जिवन काफलेले बताउनु भयो ।

संगठनको रुपन्देही जिल्ला शाखाले संयोजन गरेको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य,प्रदेश इन्चार्ज,सल्लाहकार र पूर्व अध्यक्षहरु समेत गरी २ सय बढी सहभागी भएका रुपन्देही जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालले बताउनु भयो ।