हेटौंडामा विपद् जोखिम न्यूनीकरण अध्ययन केन्द्र

0
Shares

हेटौंडा ।

धनगढीमा भएको सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको राष्ट्रिय भेलाले हेटौंडामा विपद् जोखिम न्यूनीकरण अध्ययन केन्द्र स्थापना निर्णय गरेको छ ।
१९–२० फागुनमा सम्पन्न सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको भेलाले हेटौंडामा विपद् जोखिम न्यूनीकरण अध्ययन केन्द्र खोल्नेसहित ७ वटा निर्णय गरेको हो ।

भेलाले सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको विधानउपर छलफल, परिमार्जन तथा प्रमाणीकरण गर्ने, सिटीनेटको सदस्यता सम्बन्धमा छलफल तथा निर्णय गरेको हेटौंडा उपमहानगर प्रमुख मीना लामाले जानकारी दिनुभयो ।

सिटीनेटको कोष स्थापना, सञ्चालन र व्यवस्थापन, सिटीनेटको १० औं कंग्रेस (अन्तर्राष्ट्रिय सम्मेलन) सन् २०२६ मा पोखरा महानगरपालिकाको आतिथ्यमा गर्ने प्रस्ताव गरेको लामाले बताउनुभयो । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको परिषद् बैठक बिराटनगर महानगरपालिकाको आतिथ्यतामा बिराटनगरमा गर्ने निर्णय भएको छ ।

सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको सहजीकरण संस्था भुकम्पप्रविधि राष्ट्रिय समाज नेपाल अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका तथा महासचिव रहेको तानसेन नगरपालिकाको समन्वयमा आयोजित भेलामा काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, बिराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका, बीरगञ्ज महानगरपालिका तथा विभिन्न उपमहागरपालिका, नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु तथा संस्थागत् सदस्य प्रमुखलगायत ७२ जना प्रतिनिधिको सहभागिता थियो ।

सिटीनेट सन् १९८७ मा स्थापित दीगो विकासका लागि प्रतिवद्ध एसिया तथा प्रशान्त क्षेत्रमा रहेका शहरी सरोकारवालाहरुको सबभन्दा ठूलो संगठन हो । हाल १९ देशका १ सय ५४ शहर तथा संस्था यसका सदस्य छन् । जसमध्ये १ सय २ वटा पूर्ण सदस्य, ४९ संस्थागत् सदस्य तथा ३ कर्पोरेट सदस्य छन् । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको स्थापना सिटीनेटका कामहरुको विकेन्द्रिकरण गरी यसका सदस्यहरुलाई परियोजनाको विकास गर्न सशक्त बनाउने, आफ्नो क्षेत्रका प्राथमिकताहरु निर्धारण गर्दै सिटीनेटको सञ्जाललाई अन्य स्थानीय निकाय तथा सम्भावित संस्थाबीच बिस्तार गर्न सन् २००२ मा स्थापना भएको हो ।

सिटीनेटमा नेपालका ६ महानगरपालिका, ५ उपमहानगरपालिका तथा ४ नगरपालिका पूर्ण सदस्यका रुपमा आवद्ध छन् भने अन्य ६ संस्थाहरु संस्थागत् सदस्य छन् ।

भेलामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन), पोखराका मेयर धनराज आचार्य, भरतपुरकी मेयर रेणु दाहाल, बुटवलका मेयर खेलराज पाण्डेलगायतको उपस्थिति थियो ।

सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरकी अध्यक्षसमेत रहनुभएकी हेटौंडा उपमहानगरपालिका प्रमुख लामाले भेलाको सभाध्यक्षता गर्नुभएको थियो भने ललितपुर महानगरपालिकाका प्रमुख तथा सिटीनेटका कार्यकारी समिति सदस्य चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता थियो ।