राजनैतिक आडमा ४८ रोपनी सिमसार पुरिँदै

महानगरको समेत मिलेमतो



अतिक्रमणको चपेटामा परेको फेवातालको सिमसार क्षेत्र समेत धमाधम पुर्न थालिएको छ । पोखरा महानगरपालिका २४ पामे स्थित सिमसार क्षेत्रको करिब ४८ रोपनी जग्गा पुर्ने काम भएको छ । विगत एक हप्तादेखि सिमसार क्षेत्र पुर्ने भएको हो ।

उक्त सिमसार क्षेत्र पुर्नका लागि पोखरा महानगरपालिकाले निमार्ण गरेको बाटोको माटोले पुर्ने काम गरेको छ । स्रोतका अनुसार फेवाको उक्त क्षेत्र पुर्ने अनुमति लिन पर्यटन व्यवसायीहरु पोखरा महानगरपालिका पुगेका थिए । तर महानगरले स्वीकृत दिन नमिल्ने भन्दै तर्काए । उनीहरुलाई स्वीकृत नदिएमनि महानगरकै कर्मचारी लगायतले आफ्नै तरिकाले पुर्नका लागि अनुरोध गरेको छ । स्रोतले सिमसार क्षेत्र पुर्ने चलखेलमा महानगरपालिकाको पनि हात रहेको छ । ‘महानगरले स्वीकृत दिएको छैन । यदि दिएको भएपनि त्यो गलत हो । तर मलाई थाहा भएसम्म सिमसारको ४८ रोपनी जग्गामा घडेरी निमार्ण गरिदैँछ’ स्रोतले भने,‘महानगले स्वीकृत दिए अफ्टेरो हुन्छ आफ्नै तरिकाले गर्नुस् सम्म भनेको छ ।’

पुरिँदै गरेको सिमसार क्षेत्र पर्यटन व्यवसायी देवेन्द्र, विष्णु  पौडेल, जाल्पा पराजुली लगायतको रहेको छ । विशेषगरी देवेन्द्रको ठूलो जग्गा रहेको छ ।
सर्वोच्च अदालतले ताल संरक्षणका लागि दिएको आदेशअनुरूप काम नहुनुको परिणाम माफियाहरू सल्बलाएका हुन । ताल संरक्षण गर्ने विषयमा महानगर निरीह देखियो । यतिका सिमसार क्षेत्र पुर्ने काम हुँदा समेत महानगर मुक दर्शक बनेर बसिरहेको छ । यसो त महानगरले लेकसाइड मात्रै नभई पोखरामा नै मापदण्ड विपरीत संरचना बन्दा समेत आँखामा कालोपट्टि बाधेर बसिरहेको छ ।

स्थानीय लेखनाथ पराजुलीले पामे क्षेत्र समेत सिमसार क्षेत्र रहेको जानकारी दिए । आफूले पटक पटक सिमसार क्षेत्रको बारेमा विषय उठान गर्दै आइरहेपनि कहिँकतै सुनुवाइ नभएको बताए । ‘यहाँ आवाज उठाएर मात्र केहि नहुने रहेछ । ०७० सालदेखी मैले यो विषयमा आवाज उठाउँदै आएको छु तर हुने खाने र धनाढ्यले जेपनि गर्न सक्दो रहेछ ।’ उनका अनुसार राज्यकै निकायले साथ दिँदा सिमसार क्षेत्रमात्रै नभई फेवा अतिक्रमण मात्रै भइरहेको छ । यसअघि खपौंदी क्षेत्रको ताल किनारामा बनाइएको संरचनालाई पोखरा महानगरले डोजर प्रयोग गरेर भत्काउने प्रयास गरेको थियो । तर, पुगेर फर्केपछि ताल अतिक्रमण गर्नेहरू र सिमसार क्षेत्र पुर्नेहरूलाई हौसला बढेको छ । कतिपय स्थानीय छिमेकीले ताल पुरेपछि आफ्नो क्षतिबाट जोगाउन पुर्न बाध्य भएको बताउँछन् । उक्त समय नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले आवाज उठाई कार्वाहि गराउन खोज्दा उनी माथि नै खनिएका थिए । उनीलाई त्यतिबेला त्यहाँबाट लखेट्ने सम्मको प्रयास भएका थिए ।

विश्वभर रहेका ताल तलैयालगायतका सिमसार क्षेत्रहरूलाई संरक्षण गर्ने उद्देश्यका साथ सन् १९७१ मा आएको ‘कन्भेन्सन अन वेटल्यान्ड अफ इन्टरनेसनल इम्पोर्टेन्स स्पेसल्ली एज वाटरफल हेविटेट’को धारा १ मा सिमसार क्षेत्रलाई दलदल, धाप, प्रांगारिक माटो भएको जमिन वा पानीसहितको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, अलवण वा लवण, क्षारयुक्त र ६ मिटरभन्दा कम गहिराइको निम्न छालयुक्त क्षेत्रको रूपमा परिभाषित गरेको छ ।

सर्वोच्च अदालतले १६ वैशाख ०७५ मा दिएको फैसलाको पूर्ण पाठको बुँदा नम्बर ३ मा ‘फेवातालको सम्बन्धमा गरिएका पूर्व अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिनसमेत रहेको देखाइएकाले रामसार महासन्धिको उक्त परिभाषाअनुसार फेवाताल र यस वरिपरिको क्षेत्र सिमसार क्षेत्र अन्तर्गतसमेत पर्ने कुरामा पनि विवाद भएन । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिकसमेतका बहु आयामिक महत्त्व रहेको हुन्छ…’ उल्लेख छ । यही आदेशलाई आधार मान्ने हो भने पनि यसरी निजी जमिन नै भए पनि दलदले जमिन पुर्न पाइँदैन ।

वातावरण विज्ञले यसरी तालको सिमसार क्षेत्रमा पर्ने धाप पुर्नुलाई सरासर गलत भन्छन् । सिमसार क्षेत्रको रणनीतिक योजनामै यस्तो जमिनको उपयोगका सन्दर्भमा उल्लेख गरेको उनले बताए । फेवाताल रामसार सूचीमा सूचीकृत ताल हो । ‘सिमसार क्षेत्र मेरो व्यक्तिगत जमिन हो जेसुकै गर्छु मेरो मर्जी भन्न नै पाइँदैन’ उनले भने ।

सिमसार पुर्ने नाइके युवराज खतिवडा प्रचण्डको निकट व्यक्ति 

सिमसार पुर्ने काम को जिम्मा वाई यु के कन्स्ट्रक्सन निमार्ण प्रा.लिका सञ्चालक युवराज खतिवडाले लिएका छन् । उनी प्रचण्ड निकट व्यक्ति हुन् । माओवादी सरकार आएसँगै उनले सिमसार क्षेत्र पुर्ने जिम्मा लिएर काम गरेका हुन् । ‘माओवादी सरकार छ जे गरे पनि हुन्छ यसको पुरै जिम्मा म लिन्छु भन्दै सिमसार पुर्ने जिम्मा युवराज खतिवडाले लिएका हुन्’ स्रोतले भने । उनले त्यहाँमात्र होइन सेदीमा समेत खुलेआम सिमसार क्षेत्र पुर्ने काम गरिरहेका छन् । खतिवडालाई न त कानुनको डर छ न त प्रहरीको नै ।

खतिवडाले जिम्मा लिएर पुर्ने काम गरिरहेको स्थान पामेमा करिब सय मिटरको दुरीमा प्रहरीको अस्थाई विट समेत रहेको छ । तर प्रहरीलाई नै रकम खुलाएर पुर्ने काम गरेको स्थानीयको आरोप समेत छ । स्थानीय एक व्यक्तिले आफूले विरोध गर्दा दुई लाख रुपैयाँ दिएर चुप गराउन खाजेको समेत बताए ।  फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने जिम्मा ३ करोड रुपैयाँमा लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार खतिवडाले प्रति रोपनी पाँच लाख रुपैयाँमा पुर्ने ठेक्का लिदैँ आइरहेको स्रोतले बताए । स्रोतका अनुसार खतिवडाले रातारात समेत पुर्ने काम गर्ने गर्छन् । ‘एक दुई दिन बन्द भए पुनः पुर्छन् । उनले त रातारात मान्छे लगाएर पुर्ने काम गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्