भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव हुने 

0
Shares

भक्तपुर । 

भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव आयोजना हुने भएको छ । फागुन २४ गतेदेखि सुरु हुने महोत्सव ३० गतेसम्म चल्नेछ । श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव आयोजक समितका सचिव धर्मराज कार्कीका अनुसार कार्यक्रममा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, भारत लगायतका मुलुकबाट समेत प्रतिनिधित्व रहने छ ।

सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना हुने कार्यक्रममा दैनिक १० हजारबढी भक्तजनको उपस्थिति रहने मुल आयोजक समितिका संयोजक बिष्णुप्रसाद न्यौपानेले बताउनुभयो । कार्यक्रमकै अवसरमा श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण गरिने छ ।

महोत्सव आयोजक समितिले बुधवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन कलश यात्राका साथै गजुर अनावरण गरिने छ । महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)हरुले श्री १०८ तारतमसागर पाठ पारायण गर्नेछन् ।

अर्कोतर्फ दैनिक विभिन्न गुरु महाराजहरुबाट प्रवचन हुनेछ । त्यसैगरी श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९’ हुने आयोजक समितका सदस्य श्याम केसीले बताउनुभयो । महोत्सवमा दैनिक सेवा पुजा आरती, योग ध्यान, चितवनी, पाठ पारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती, प्रवचन र साँस्कृतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।

त्यसैगरी विशेष कार्यक्रमको रुपमा दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, नि:शुल्क स्वास्थ्य परीक्षण र फागुन ३० गते सामूहिक उपनयन कार्यक्रम हुने मुल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

महोत्सवमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको शुभआशिर्वचन, श्री मंगलधाम कालिम्पोङ्गका गादिपति श्री १०८ गुरुजी मोहनप्रियाचार्यजी महाराजले प्रवचन दिने जनाइएको छ । त्यसैगरी श्रीनवतनधाम गादिपति १०८ बाबा अमृतराजजी महाराजद्धारा श्रीमत्तारतम सागर वाणी चर्चा एवम् श्रीकृष्ण रसामृत, श्रीभद्रावतिपुरीधाम भरोडा भारतका गादिपति श्री १०८ टहलकिशोरजी महाराजजीको प्रवचन रहनेछ ।

त्यस्तै श्रीनवतमधामका महन्त श्री १०८ पुरुषोत्तम महाराजजीका मुखारविन्दबाट सरस तथा रसापन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका महोत्सव आयोजक समितिका सचिव कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख रुपियाँ खर्च हुने र कार्यक्रमबाट करिब ७० लाख रुपियाँ संकलन हुने अनुमान आयोजक समितिले गरेको छ ।