स्ववियु निर्वाचन प्रक्रिया शुरू- आज संघ संगठन दर्ता, आइतबार मतदाता सूची सार्वजनिक

स्वयम्सेवकको व्यवस्था निषेध

0
Shares

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आज शुक्रबारबाट शुरू भएको छ । आज निर्वाचनमा भाग लिने विद्यार्थी संघ संगठनको दर्ता शुरू गर्ने कार्यतालिका छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपति अधिकारीले नेपाल समाचारपत्रसँग कुरा गर्दै आज त्रिविको सम्बन्धन प्राप्त ६२ क्याम्पससहित स्ववियु निर्वाचन गराउने सामुदायिक क्याम्पसमा संघ–संगठन दर्ता गरी निर्वाचन प्रक्रिया शुरू हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘योसँगै अब सबै क्याम्पसमा स्ववियुको माहोल तयार भएको छ । अब त्रिवि निर्वाचनमा होमियो, सबै क्याम्पसको निर्वाचन समितिले आ–आफ्नो काम शुरू गर्नेछन् ।’

कार्यतालिकाअनुसार आइतबार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।

यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।

कार्यतालिकाअनुसार फागुन २९ गते दिउँसो २ देखि चैत २ गते राती १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको छ । निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यसै गरी उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य भने समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमितिमा २ सय विद्यार्थी बराबर ११ सदस्यीय, २ सय एकदेखि १ हजारसम्म विद्यार्थी भए १३ जना, १ हजार १ देखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार एकदेखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ ।

त्रिविले जारी गरेको आचारसंहितामा निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वालपेन्टिङ गर्न नपाइने, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने, त्रिवि वा क्याम्पसलाई हानी नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार गर्न नपाईने, निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन समितिले सञ्चालन गर्ने परिचयात्मक कार्यक्रमलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्यहरू बोल्न नपाइने उल्लेख छ ।

त्यसै गरी सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ए फोर साइजको एक रङ भएको पर्चामात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । त्रिविले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रमुखले एकजना निर्वाचन अधिकृत र आवश्यकताअनुसार सदस्य थपेर निर्वाचन समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यसै गरी संघ संगठन दर्ताको दिन सो प्रक्रिया रद्द भए, निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था छ । निर्वाचन सम्पन्न गर्न समितिले थप पाँच बुँदे निर्देशन जारी गरेको समितिका सदस्यसचिव प्रा. अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसको आवश्यकताअनुसार ३ हजारसम्म विद्यार्थी संख्या भएका क्याम्पसमा बढीमा ७ र सोभन्दा बढी विद्यार्थी भएमा बढीमा ९ सदस्यीय आचारसंहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सकिने र त्रिवि निर्वाचन समूहमा १ जना संयोजकसहित ११ जनाको समूह बनाउन सकिने व्यवस्था गरेको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित रूपमा हुनसकेको छैन । त्यसको ८ वर्षपछि २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । यसअघि २०७३ सालमा ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

त्रिविले २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू गरेपछि २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् ।

स्वयम्सेवकको व्यवस्था निषेध

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको दिन क्याम्पस÷कलेज हाताभित्र स्वयंसेवकको व्यवस्थालाई निषेध गरेको जनाएको छ ।

समितिले सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई आचारसंहिताको ५ बुँदे थप निर्देशिका पठाउँदै संघ, संगठन, समूह, दर्ता फाराम, एजेन्ट संख्या, उम्मेदवारी फिर्ता फाराम मुचुल्काको ढाँचालगायत आवश्यक फारमहरू क्याम्पस निर्वाचन समितिले नै तयार गर्नुपर्ने उल्लेख गरेको छ । समितिले निर्वाचन उम्मेदवारी आवेदन फारम सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसलाई पठाएको जनाएको छ ।

समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले ६२ आंगिक र अन्य सम्बन्धनप्राप्त क्याम्पसलाई ५ बुँदे थप निर्देशन र आवेदन फाराम पठाएको जानकारी दिँदै भन्नुभयो– ‘सबै क्याम्पसमा स्ववियु निर्वाचनलाई एकरूपता दिन यस्तो व्यवस्था गरेका हौं ।’