एकीकरण दिवसमा खुल्ला रक्तदान



काभ्रे।

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेले संस्था एकीकरण पछिको दशौं एकीकरण दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ३८ जनाले खुल्ला रक्तदान कार्यक्रममा सहभागिता जनाएका छन् ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाले समुदायमा आधारित सहकारीले रगतको अभाव भइरहेकाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

एकीकरण दिवसको अवसरमा फागुन १९ गते शुक्रबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ मेडिकल कलेज काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनु भयो । शिविरमा स्त्री रोग, नसा रोग, नाक, कान घाँटी रोग, आँखा सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श, हाड जोर्नी तथा साधारण स्वास्थ्य परीक्षण, इसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट हुनेछ ।

दिनप्रतिदिन सहकारी प्रति नागरिकहरूको अविश्वास बढिरहेका बेला ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थामा सदस्यहरुको आकर्षण र विश्वास बढिरहेको छ । १५ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीका ८ वटा सेवा केन्द्र छन् ।

बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर र बेथान्चोक गाउँपालिकामा कार्यक्षेत्र रहेर कारोबार गरिरहेको सहकारीले १८ वटा शीर्षकमा बचत सङ्कलन गरिरहेको छ भने १९ किसिमका ऋण प्रदान गरिरहेको छ । ३ सय ६५ दिन सेवा प्रवाह गरिरहेको उक्त संस्थाले शेयर सदस्यहरुको हितका लागि प्रविधि मैत्री कारोबार सहित मोबाइल बैङ्किङ लगायतका सुविधा प्रदान गरिरहेको छ ।

बागमती प्रदेश सहकारीले उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको माघ मसान्तसम्म १० करोड ६३ लाख ६७ हजार ५ सय शेयर पुँजी रहेको छ भने ७१ करोड ९३ लाख बचत गरेको छ । ८३ करोड ऋण लगानी गरेको संस्थाको १८ प्रतिशत तरलता रहेको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिनुभयो ।

एकीकरण दिवसको अवसरमा १३ जना उत्कृष्ट बचतकर्ता र ऋणी सम्मानित हुनेछन् भने एसइई २०७८ मा उत्कृष्ट हुने शेयर सदस्यहरुका छोराछोरीहरूलाई सम्मान गरिनेछ । साथै संस्थामा आबद्ध २ सय ७१ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिनेछ ।

सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सम्मानित ब्यक्तिहरुलाई पुरस्कृत गर्ने कार्यक्रम तय भएको प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिनुभयो । यसका अलावा ज्योति मिर्मिरे सहकारीले समुदायमा आधारित विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्