कुशादेवीको दारिमबोटमा महायज्ञ महाअनुष्ठान

0
Shares

काभ्रे । 

आदित्य मोक्ष धाम दारिम्बोट, कुशादेवी, काभ्रेपलाञ्चोकमा बिहीबार देखि तीन दिनसम्म सञ्चालन हुने गरी महायज्ञ महाअनुष्ठान सुरु भएको छ ।
तीन दिनसम्म आयोजना हुने महायज्ञ महाअनुष्ठान कार्यक्रममा १०८ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन (जसलाई अग्नि एवं जलकुण्ड भनिन्छ), देवी भागवत सहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार वेद पाड पारायण(चार दिशामा), दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणी, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ता अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान हुनेछ ।

आदित्य गुरु स्वयंको उपस्थितिमा भएको कार्यक्रम गुरुदेव आदि चन्द्र योगीले १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान सम्पन्न पछिको छैटौँ श्रृंखलाको प्रयोग हो । ओम आदि फाउण्डेशनको आयोजनामा भइरहेको महायज्ञ महाअनुष्ठानमा २७ देशको जल र माटो ल्याइएको छ । महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग भएको फाउण्डेशनका सदस्य सचिव क्याप्टेन रामेश्वर थापाले जानकारी दिनु भयो ।

विश्व कल्याण एवं सङ्कट निवारणको उद्देश्यका साथ आयोजित महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ । ‘अरु समुन्द्रमा महल बनाउँछन्, हामी पनौतीमा स्वर्ग बनाउँछौँ’–आदित्य मोक्ष धामका परिकल्पनाकार आदि चन्द्र योगीले लेख्नु भएको छ –‘ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्व भरी चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पनाका साथ आदित्य मोक्ष धाम निर्माण गरिएको हो ।’

मोक्षधाममा एकसय अधिक स्मारकहरु निर्माण गरिने योजना बनाइएको छ । प्रत्येक स्मारक एवं मन्दिर अनौठो र विलक्षण हुनेछन् । सबै स्मारक र मन्दिरका आर्किटेक्चर स्वयम गुरुदेव आदित्य हुनुहन्छ । निर्माण हुने प्रत्येक संरचना कलात्मक र दिव्यताले भरिपूर्ण हुनेछ । सोही गुरुयोजना अनुसार निर्माण कार्य आरम्भ भएको छ । मोक्षधामलाई भविष्यमा एक धार्मिक गन्तव्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार गरिएको छ ।

मोक्ष धाम अन्तर्गत विशेष उर्जाकेन्द्रको रुपमा चक्र, मन्दिर, महाभैरव, आदियुगद्वार, नवग्रह, सप्तर्षि इत्यादि रहनेछन् । मानव इतिहासमा धेरै धामहरु निर्मित भए पनि आदित्य मोक्ष धाम आधुनिक विज्ञान र सनातन अध्यात्म चिन्तनधारीको युग सुहाउँदो संगम केन्द्र हुने फाउण्डेशनका सदस्य सचिव रामेश्वर थापाले बताउनु भयो ।

बिहीबार पहिलो दिन बिहान ७.३० बजे नित्य पूजा सुरु भएको थियो । ९.५० बजे विशेष पूजा सम्पन्न गरी दिउसो १२ बजे हवन सुरु सुरु भएको अध्यक्ष डा. उपेन्द्र महत्तोले जानकारी दिनु भयो ।