म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच झडप, घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै

0
Shares

काठमाडौं ।

वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् ।

झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो ।

झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार भएको थियो । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ ।

बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो । तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो ।

विवादको क्रममा म्यानपावर व्यवसायीहरुले बरालसहित युट्युबर तथा पीडितहरुमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि विभागमा गएर होहल्ला गरेको तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेको भन्दै २ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो पैसा फिर्ता माग्न भन्दै पीडितहरु विभागमा पुगेका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले नै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्देशन दिएका थिए ।

तर, म्यानपावर व्यवसायीहरुले पैसा नदिएको भन्दै पीडितहरु पुनः विभागमा पुगेका थिए । विभागमा पुगेका उनीहरुमाथि मेन पावर व्यवसायीहरुले कुटपिट गरेका थिए । कुटपिट गरेको थाहा पाएपछि बरालसहितको टोली विभागमा पुगेको थियो । पीडितहरुलाई साथमा लगेर गएकी बरालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै यदि पीडितलाई म्यानपावर व्यवसायीले कुटेको खण्डमा आफूहरुले विभागका हाकिमलाई नै कुट्ने चेतावनी दिएकी थिइन् ।

त्यही क्रममा म्यानपावर व्यवसायीहरुले युट्बरमाथि कुटपिट गरेका थिए । त्यसपछि बरालमाथि पनि कुटपिट गरेका हुन् । पछिल्लो समय विभागमा दिनदिनै होहल्ला गर्ने, युट्युबरहरुलाई बोलाएर नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुँदै आएको छ । त्यसपछि विभागको सूचना जारी गरेर पीडितलाई परिचयपत्रको आधारमा मात्र भित्र प्रवेश दिने नीति ल्याएको थियो । तर, जनशक्तिको अभावमा त्यो नीति लागू गर्न नसकिएको विभागले जनाएको छ ।